RayNewsDaily
जेनजी पुस्ताको आन्दोलनका कारण राष्ट्रियसभा र राज्य व्यवस्था समितिको बैठक स्थगित    

काठमाडौं । जेनजी पुस्ताको विरोध प्रदर्शनले उग्र रूप लिएपछि राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो ।     
     
विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो ।  

राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित    
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो ।     
     
बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो । गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गर्नुभयो ।     
     
समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गर्नुभयो । छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गर्नुभयो ।     
     
अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो । त्यसअघि बैठकमा सांसदहरू मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरीलगायतले संशोधन प्रस्तावमाथि आ-आफ्नो धारणा राख्नुभएको थियो । सो विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन दर्ता भएको छ । विधेयकको प्रस्तावनामा नै २२ वटा संशोधन परेको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update