
रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक केही दिनदेखि घट्दो क्रममा रहेकोमा आज ११.३२ अंकको गिरावट आई २७०८.४५ विन्दुमा पुगेको छ ।
नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोड ४३ लाख बराबरको शेयर किनबेच भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपियाँको शेयर कारोबार भएको छ । आज पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआइबिएल समृद्धि फन्ड र युनिभर्सल पावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी मेगा म्युच्युअल फन्ड र एनआइबिएल ग्रोथ फन्डको शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पञ्चकन्या माई हाइड्रोपावरको शेयर आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास हाइड्रोपावरको शेयरमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनीकोे २७ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एभरेष्ट बैंकको कारोबार रकम २२ करोड १५ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये आज तीनवटा उपसमूहको शेयर बढेको छ भने अन्य उपसमूहमा गिरावट आएको छ ।