RayNewsDaily
रे टेलिभिजनका समाचार निर्देशक पाठकलाई कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कार

रे समाचार, विराटनगर । रे टेलिभिजनका समाचार निर्देशक तथा साहित्यकार व्याकुल पाठक कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कारबाट सम्मानित हुनुभएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा पाठकलाई रू पचास हजार एक सय एघार राशिको उक्त पुरस्कार समर्पण गरिएको हो । उक्त पुरस्कार प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कार संस्थापक कौशिला पोखरेल, रन्जना पोखरेल लगायतले समर्पण गर्नुभएको हो । 

21684669019.jpg

कवि कविराज पोखरेलले पुरस्कृत स्रष्टा पाठकको लेखनबाट प्रभावित भएर निधन हुनुअघि ‘म नरहे पनि उल्लेखित राशिको पुरस्कार पाठकलाई दिनु’ भनेर परिवारबीच आफ्नो इच्छा व्यक्त गर्नुभएकाले पोखरेल परिवारले कविको स्मृति दिवसको अवसरमा कविको अन्तिम इच्छा अनुरूप उक्त पुरस्कार समर्पण गरिएको हो । ‘कवि कविराज परिवारबीच र साहित्यकारहरूको भेलामा पनि व्याकुल पाठकको गजल गुनगुनाउने गर्नुहुन्थ्यो र उत्कृष्ट गजल यस्तो हुन्छ भनेर उदाहरण दिने गर्नुहुन्थ्यो’, कविराजका भाइ भेषराज पोखरेलले कार्यक्रममा भन्नुभयो ।

31684748866.jpg

सोच्दै नसोचेको पुरस्कार पाएर आफू आश्चर्यचकित भएको पुरस्कृत स्रस्टा पाठकले बताउनु भयो । साहित्यकार कविराजलाई व्यक्तिगत रूपमा नचिनेको तर रचना भने पढ्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘एकजना स्थापित साहित्यकार नै मेरो रचनाबाट यो हदसम्म प्रभावित भएर अन्तिम इच्छा नै जाहेर गरेर जानु दुर्लभ घटना नै हो, यस्तो घटना भविष्यमा दोहोरिन गाह्रो छ ।’ 
साहित्यकार पाठक तीन दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा समर्पित स्रष्टा र सम्पादक हुनुहुन्छ ।

41684749088.jpg

सो कार्यक्रममा गजलकारहरू मधु पोखरेल, देवी पन्थी, किशोर कोइराला, कविता केशरी, हरि कट्टेल, विनोद विवश, मुना आत्रेय, विमला पोखरेल, चिरञ्जीवी काफ्ले, टीका सुदिश निरौला, स्वीकृति रेग्मी, सन्तोष आचार्य, भुपाल अधिकारी, अजिता प्रधान, शकुन्तला मन्जरी लगायतले कवि कविराजलाई स्मरण गर्दै गजल वाचन गर्नुभएको थियो भने गीतकार नारद पोखरेलको गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो ।

61684749421.jpg

सो समारोहमा साहित्यकारहरु खेम नेपाली, प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विवश पोखरेल, दिङ्लाली कान्छोलगायतले कविराज पोखरेलको साहित्य जीवनबारे प्रकाश पार्नुभएको थियो । पुरस्कृत स्रष्टा पाठकको परिचय कवि चूडामणि नेपाल अकिञ्चनले र कार्यक्रमको सञ्चालन कवि भेषराज पोखरेलले गर्नुभएको थियो । साहित्यकारहरू र पोखरेल परिवारको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम हिमालय दर्शन कलेजको सभाहलमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update