
रोशन केसी (काठमान्डू) । चीन कला, साहित्य, सम्पदाले भरिएको छ । ५ हजार बर्षको गर्विलो इतिहासको बोकेको चीनको हरेक शहर, गाँउ र क्षेत्रको आ-आफ्नै बेग्लै पहिचान र महत्व रहेको छ । जसले विश्वभर चीनलाई चिनाइरहेका छन् । यस्तै सांस्कृतिक, ऐतिहासिक महत्वसँगै आधुनिकताले सजिएको शहर हो साङहाई । जसलाई हेर्न विश्वभरका मानिसहरु आउने गर्दछन् । साङहाई आँफैमा एउटा खुल्ला सङग्रहालय हो । जसलाई हरेक मानिसले आफ्नो हिसाबले बुझ्ने, महसुस गर्ने र त्यसलाई आफ्नो हिसाबले अर्थाउने गर्दछन् । साङहाईका हरेक क्षेत्रले पर्यटकहरुलाई आर्कषित गर्ने क्षमता राख्दछन् । तरपनि यहाँ केही विशेष ठाँउहरु रहेका छन्, जसको अवलोकन नगरि साङहाईको यात्रा पूर्ण हुन सक्दैन ।
चिनस्यान अभौतिक साँस्कृतिक सम्पदा
साङहाईमा रहेको चिनस्यानलाई गोल्डेन हिलका नामले पनि चिनिन्छ । यो कृषि पनि क्षेत्र हो । यहाँ कृषिका विभिन्न कृयाकलापहरु हुने गर्दछन् । यही सानो एउटा चित्रकला प्रर्दशनी रहेको छ, जसलाई चाइनीज प्लिजेन्ट पेन्टिङ भिलेज भिजिटर सेन्टर भनिन्छ ।
यहाँ Chen Fulin चित्रकारका ४ वटा पुस्ताका चित्रकलाहरु प्रर्दशनीमा राखिएका छन् । यो चित्रकलामा यस क्षेत्रका किसानको जीवनशैली, प्रकृति, कृषिलगायतका विविध बिषयहरुको उठान पाइन्छ । चित्रकार Chen Fulin ले सन् १९५२ देखि आफ्नो कृषिको काम सकिएपछि बाँकी बचेको समयमा चित्र बनाउन सुरु गर्नुभएको थियो । चार पुस्तादेखि चलिरहेको यो चित्रकलामा पुस्तैपिच्छे रंग, सोच र प्रस्तुतिमा विविधता रहेको छ ।
सन् १९५२ देखि चलेको चित्र बनाउने यो प्रचलन अहिले पनि चलिनै रहेको छ । अहिले पनि यस ठाउँमा उहाँका परिवारका सदस्यहरु आउने र चित्र बनाउने गर्नुहुन्छ । यहाँ बन्ने चित्रहरु १ सय ५० देखि ६-७ हजार चिनियाँ युआनमा बिक्री हुने गर्दछन् ।
फुङचिङ पुरानो गाँउ
मिङ र छिङ राजवंशको शैलीमा निर्माण भएका सल्लक मिलेका घरहरु निकै रमणिय र मनमोहक छन् । नजिक बगिरहेको कुलो अनि छेउमा हार मिलाएर उभिएका १ हजार ५ सय बर्ष पुराना घरहरु फुङचिङ पुरानो शहरको रुपमा चर्चित छ ।
ढुङगा छापिएको बाटो हिड्दै वरपर रहेका यी घरहरु नियाल्न यहाँ धेरै पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रलाई सन् २००४ मा दृश्यावलोकन क्षेत्रका रुपमा घोषित गरिएको थियो भने सन् २००५ मा चीनको राष्ट्रिय सांस्कृतिक शहरको रुपमा सूचिकृत गरिएको थियो । यस क्षेत्रमा ३ वटा ढुङ्गाबाट बनेका पुलहरु पनि रहेका छन्, जुन निकै चर्चित पनि छन् । यी पुलको आफ्नै किसिमको महत्व पनि छ । यस शहरमा अहिले पनि मानिसहरुको बसोबास रहेको छ ।
यहाँ पसलहरु छन्, होटेल छन् । मौलिकतामा आधुनिकताको समिश्रण यहाँ देख्न पाइन्छ । यहाँ स्थानीय परिकारका होटेल, रेष्टुरेन्टसँगै स्टारबक्स जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरु पनि रहेका छन् ।
साङहाई सङग्रहालय (पूर्वी नयाँ भवन)
साङहाई सङग्राहलयको यो भवनमा २ हजार बर्ष पुराना कलाकृतिहरुको प्रर्दशनी रहेको छ । यस सङग्राहलयमा २० वटा ग्यालेरी रहेका छन् । जहाँ ब्रोन्स, सेरामिक, सिल, चित्रकला, फोटोग्राफी, क्यालिग्राफी लगायतका ग्यालेरीहरु रहेका छन् । यसको सबैभन्दा ठूलो ग्यालेरी सेरामिकको छ । यहाँ सङ, सुई लगायत ५ वटा राजवंशले प्रयोग गरेका ब्रोन्स, सेरामिकका विभिन्न भाडाकुडासँगै अन्य धेरै कुराहरुको प्रर्दशनी रहेको छ । यहाँ हिउँदे विदाको समयमा २० हजार नागरिकले दैनिक अवलोकन गर्ने गर्छन् भने यसको क्षमता २५ हजारको रहेको छ । यो प्रर्दशनी अर्थ विश्वले हामीलाई हेरिरहेको छ भन्ने रहेको सङग्रहालयले जनाएको छ ।
साङहाई सङग्रहालय (मुख्य भवन)
सन् १९५२ मा बनेको यो सङग्रहालयमा हाल इजिप्टको सभ्यताको प्रर्दशनी चलिरहेको छ । यो प्रर्दशनी करिब १३ महिना चल्नेछ । यो प्रर्दशनीमा इजिप्टका विभिन्न समयका ढुङगामा कुँदिएका शिलालेख, विभिन्न उत्खननमा भेटिएका देवीदेवता र तिनका प्रतिमा, इजिप्टमा निकै मानिने विरालो ममी, मानिसलाई ममी बनाएर राख्न प्रयोग गरिने कफिन र तिनको इतिहासका बारेमा प्रर्दशनी गरिएको छ । यो भवनमा गरिएको प्रर्दशनीको अर्थ हामीले विश्वलाई हेरिरहेका छौँ भन्ने रहेको सङग्रहालयको भनाई छ ।
रोचक कुरा के छ भने यस सङग्राहयलमा जानका लागि पैसा तिर्नुपर्दैन । यहाँ निःशुल्क जान मिल्छ तर यसका लागि सङग्राहयको वेभसाइटमा गएर नाम दर्ता गर्नुपर्छ । यसरी नाम दर्ता गर्ने संख्या निकै हुने गरेको छ ।
साङहाई मास आर्ट सेन्टरः=
साङहाई मास आर्ट सेन्टरमा सामान्य नागरिकहरुका कलाकृतिको प्रर्दशनी गरिन्छ । हाल यहाँ चलिरहेको एउटा प्रर्दशनी निकै रोचक छ । यहाँ चीनका विभिन्न प्रान्तमा रहेका १५ वटा जेलमा सजाय काटिरहेका महिला र पुरुष कैदीहरुका कलाकृतिको प्रर्दशनी रहेको थियो । यहाँ उनीहरुले बनाएका क्यालिग्राफी, जेड, बाँस, पात, काठमा कुँदेर बनाएका कृर्तिहरु, चित्रकला, हस्तकला र अन्य धेरै कुराहरुको प्रर्दशनी रहेको थियो । यहाँ प्रर्दशन गरिएका यी कृतिहरुको मुख्य उदेश्य जेल जीवनपश्चात उनीहरुले केही गरेर खान सकुन् भन्ने रहेको छ । कलाले जीवन परिर्वतन गर्छ भन्ने मान्यता यहाँ रहेको छ ।