
रे विशेष सम्वाददाता/चान्डा, तिब्बत, चीन । नेपालस्थित रे टेलिभिजन एचडीका सदस्यहरु चीनको तिब्बत स्वायत्त प्रदेशको चान्डा काउन्टी (Zanda County) मा पुग्नु भएको छ । "Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत चीनको तिब्बत स्वायत्त प्रदेशका विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा रहनुभएका नेपाली सञ्चारकर्मीहरु आज चान्डा काउन्टी पुग्नु भएको हो ।
दक्षिण पश्चिम तिब्बतको सुन्दरनगरी अलीबाट चान्डासम्मको सडक यात्रा अद्भुत रहेको रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले बताउनुभयो । “हामीले धेरै पहाडहरू, नदीहरू र उपत्यकाहरू पार गर्यौं । मेरो घडीको उचाइले संकेत दियो कि हामीले ५ हजार ३०० मिटर उचाइ पार गर्यौं जुन बाटोको सबैभन्दा अग्लो बाटो हो ।“ अध्यक्ष पौडेलले भन्नुभयो ।
सुपर फाइन राजमार्गबाट यति अग्ला पहाडहरू पार गर्नु आफ्नो लागि कल्पनाभन्दा बाहिरको कुरा भएको पौडेलको भनाइ छ । “मैले साँच्चै यति कठिन पहाडी क्षेत्रमा राजमार्ग सञ्जाल देख्न पाएको महसुस गरें” पौडेलले यात्राको अद्भूत स्मरण गर्दै सुनाउनुभयो ।
चान्डा काउन्टीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू र प्रचार विभागका साथीहरूले नेपाली र चाईना मिडिया ग्रुपका पत्रकारहरुलाई भव्य स्वागत गरेका थिए ।
नेपाली पत्रकारहरुले भ्रमणका क्रममा पुरातात्विक स्थलहरू र पियाङ डोङ्गा गुफाहरूको अवलोकन गर्नुभएको थयो । यी गुफाहरूको इतिहास २००० वर्षभन्दा बढी छ । नेपाली पत्रकारहरुले गुफा भित्र जाने मौका पाएको र गुफाहरूको भित्तामा थुप्रै प्राचीन चित्रहरु कोरिएका भेट्टाएको प्रतिक्रिया दिनुभयो । यी गुफाहरूलाई चीनको केन्द्र सरकार र तिब्बत प्रदेश सरकारले राम्रोसँग संरक्षित गरेका छन् ।
ती प्राचीन गुफाहरूमा जाँदा देखिएका दृश्य र भौगोलिक वनौट नेपालको माथिल्लो मुस्ताङसँग धेरै मिल्दोजुल्दो र सुन्दर रहेका नेपाली पत्रकारहरुको भनाइ छ ।
नेपाली पत्रकारहरुलाई यस भ्रमणमा चाइना ग्लोवल टेलिभिजनका सञ्चारकर्मीहरुले सहयोग गरिररहनु भएको छ ।