
रमेश हतुवाली/काठमाण्डू । चाइना मिडिया ग्रुपको “चीन पदयात्राः आधुनिकीकरणतर्फ–सिचाङ भ्रमण” आजदेखि औपचारिक रुपमा सुरु भएको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको राजधानी ल्हासामा चाइना मिडिया ग्रुप, एसियाली अफ्रिकी भाषा कार्यक्रम केन्द्रका आन स्याओनिङले ब्यानर प्रस्तुत गर्दै सो मिडिया भ्रमणको शुभारम्भ गर्नुभएको हो ।
सो भ्रमणमा दक्षिण एसियाली मुख्यधारा (टेलिभिजन) बाट मुख्यतया नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । नेपालस्थित रे टेलिभिजनको टोलीले यस मिडिया भ्रमणमा उत्सुकतापूर्वक भाग लिइरहेको छ भने सीएमजी नेपाली सेवाको टोलीले सहयोग र समर्थन गरिरहेको छ ।
दक्षिण एशियाका मिडियासँग सम्वद्ध नेताहरूले चाइना मिडिया ग्रुपद्वारा सुरु गरिएको यस मिडिया भ्रमणको उच्च महत्व रहेको बताएका छन् । मिडिया भ्रमणमा सहभागी हुनुभएका रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलले यस किसिमको मिडिया भ्रमणमार्फत चीनको तिब्बतलाई चिनाउने र त्यहाँ भैरहेका विकास निर्माणबारे जानकारी दिने यो उत्तम तरिका भएको बताउनुभयो । भ्रमणमा चीनको तिब्बतका स्थानीय वासिन्दाहरुले कसरी आफ्नो सुखी जीवनको आनन्द लिइरहेका छन् र स्थानीय जनतालाई चीन सरकारबाट कसरी हेरचाह भैरहेको छ भन्ने बारे बुझ्ने र उनीहरुसँग अन्तरक्रिया गर्ने अवसरहरू प्राप्त हुने विश्वास पनि अध्यक्ष पौडेलको रहेको छ ।
साथै उहाँले तिब्बतमा भैरहेको दू्रत विकास र आधुनिकीकरणको अन्वेषण गर्ने पनि बताउनुभयो । चीन सरकारले तिब्बतमा गरिरहेको उच्च लगानीको मुख्य लक्ष्य त्यहाँका जनतालाई सुखी र समृद्ध जीवन प्रदान गर्नु हो भन्ने कुरा पनि आफुले बुझेको अध्यक्ष पौडेलको भनाइ छ ।
यस भ्रमणमा रे टेलिभिजनले सके सम्म धेरै अनुभवहरु हासिल गर्ने र तिब्बती जनताका सफलताका कथा साथै तिब्बको उच्चत्तम विकासका रहस्यहरु बारे डकुमेन्ट्री बनाउने योजना बनाएको छ ।
तिब्बतमा रहेको रे टेलिभिजको टोलीले आज चाइना मिडिया ग्रुपको टोलीसँग मिलेर ल्हासास्थित विश्व सम्पदा सूचिमा सूचिकृत पोतला दरबार र नेपाली राजकुमारी भृकुटीले निर्माण गर्नुभएको जोखाङ मन्दिरको भ्रमण गरेको थियो ।