RayNewsDaily
तीनकुने घटनापछि फरार दुर्गा प्रसाईंलाई काठमाण्डू ल्याइयो

रे समाचार/काठमाण्डू । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाणडू ल्याएको छ ।

उहाँलाई बुद्ध एयरको विमानमा आज मध्याह्न भद्रपुरबाट काठमाण्डू ल्याइएको हो । उहाँका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरी काठमाण्डू ल्याएको छ । प्रसाईंलाई आज बिहान प्रदेश नम्बर १-०१-००२ च ३७९३ को गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो ।  बिहान १० बजेर ७ मिनेटमा उहाँलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । तर, प्रहरीले भने उहाँलाई शुक्रबार नै भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । यसअघि प्रसाईंको सचिवालयले उहाँले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो । 

बिहान केहीबेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर प्रसाईंलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उहाँलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने हतकडी खोलिएको थियो । काठमाण्डू ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाण्डू ल्याइएको दाबी गर्नुभयो ।  चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको उहाँको भनाइ छ ।  प्रसाईं १५ गतेको घटनापछि भारत फरार हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update