काठमाडौं । काठमाडौंस्थित क्यापिटल एफ एमले नियमित प्रसारणको १७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको माध्यमबाट जनतालाई जागरुक गराउने उद्धेश्यले २०६३ साल असार २६ गते क्यापिटल एफ एमले नियमित प्रसारण सुरु गरेको हो । स्थापना कालदेखि नै जनचासोका विविध विषयहरुलाई गहन रुपमा श्रोतामाझ पुर्याउने क्यापिटल एफ एमले २०६४ सालको ऐतिहासिक संविधान सभाको निर्वाचन, २०७० सालको संविधान सभा निर्वाचन, प्रतिनिधि सभा र स्थानीय तह निर्वाचन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुल्न सफल घटनाहरुको प्रचार प्रसारमा अहं भूमिका निर्वाह गरेको छ ।

क्यापिटल एमएमको थापागाउँस्थित स्टेसनमा आज विहान आयोजित १७ औं वार्षिकोत्सव समारोहमा बोल्नु हुँदै बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका रजिष्टार रेवती प्रसाद सापकोटाले अहिलेको अवस्थामा मिडियालाई कसरी बचाउने भन्ने नै मुख्य चुनौती रहेको बताउनु भयो ।

रे मिडिया गु्रपका अध्यक्ष प्रकाश बाबु पौडेलले मिडियाहरुकाबीचमा एकता हुन नसक्नु र राज्यले मिडियाहरुलाई समस्या भएको समयमा उपयोग गर्ने र अरुबेला अनेकौं समस्या थोपर्ने गरेको दुखेसो पोख्नु भयो ।

टेलिभिजन संघ नेपालका अध्यक्ष लाल प्रभात चलाउनेले आम सञ्चार माध्यमहरुको सञ्चालन र उनीहरुको विकासका लागि कानूनी तथा नीतिगत रुपमा धेरै बाधा र अड्चनहरु रहेको जानकारी दिनुहुँदै मिडियाको भूमिकालाई अझ सशक्त बनाउन खरो रुपमा उत्रनु पर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले अनलाईन, रेडियो र टेलिभिजनहरुलाई पर्ने समस्यामा साथ दिन आफु र राष्ट्रिय टेलिभिजन प्रसारक संघ तयार रहेको बताउनु भयो ।

क्यापिटल मिडिया गु्रपका अध्यक्ष सुशिल राउतले एम. एम. र टेलिभिजन सञ्चालनका क्रममा धेरै समस्याहरुसँग जुध्नु परेको जानकारी दिनुहुँदै १७ वर्षको अवधिमा क्यापिटल एफ. एमले देशका धेरै सञ्चार माध्यमहरुसँग सहकार्य गरेको स्मरण गर्नुभयो ।

बदलिदो परिस्थिती अनुसार अनलाईन, एमएम र टेलिभिजन सञ्चालनका लागि थुप्रै चुनौतीहरु ब्ढिरहेका र आर्थिक अभावको समेत चर्को रुपमा सामाना गर्नुपरेको कार्यक्रममा उपस्थित अन्य सञ्चारकर्मीहरुको भनाई छ ।

