RayNewsDaily
शेयर बजार २५ अंकले वृद्धि

काठमाडौं । असार मसान्तको प्रभाव सकिएसँगै आज शेयर बजारमा सुधार देखिएको छ । पछिल्ला केही दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज दोहोरो अंकले बढेर बन्द भएको छ । असार मसान्तमा ब्याजको रकम जोहो गर्न लगानीकर्ताहरुले शेयर बिक्री गर्दा पछिल्ला दिनहरुमा बजारले सकारात्मक दिशा लिन सकेको थिएन । तर, आज भने सो प्रभाव सकिएकोले बजारमा सुधार देखिएको अनुमान गरिएको छ ।

आज नेप्से परिसूचक २५.३१ अंक बढेर २०९७.५५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । हिजो २ अर्ब ८५ करोडको शेयर कारोबार भएकोमा आज २८९ स्टकको ५९ हजार ५३९ पटकको कारोबारमा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । शिवश्री हाइड्रोपावर, सिवाईसी लघुवित्त, रिभरफल्स पावर, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, शुभम् पावर र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, अन्य ३ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको रावा इनर्जी डेभलपमेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update