RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । शेयर बजार आज सामान्य अंक घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ४.७३ अंक घटेर २०७२.२४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८३ स्टकको ५४ हजार ९४३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से सामान्य अंक ओरालो लागे पनि तीन स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन पावर पार्टनर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सिंगटी हाइड्रो इनर्जी, श्वेत गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य आज ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको १२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको साढे १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सोल्टी होटलको साढे १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.९९ प्रतिशत बढेको छ । होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update