RayNewsDaily
मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए   

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।   
    
मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ । गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएका उल्लेख गरिएको छ । 
    
राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार नौ सय ९५ फस्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र छ हजार सात सय ४५ जनालाई हिरासतमा लिइएको मुख्य सचिवले प्रतिवेदनमा उल्लेख गरेका छन् ।    
    
स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलका एक सय २४ कम्पनी र भारतीय सेनाको एक सय २४ टोली परिचालन गरिएको जनाइएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा मे ३ तारिखदेखि जारी जातीय दङ्गमा ती हजारभन्दा बढी घाइते भएका छन्भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।    
    
भीडले तोडफोड र आगजनी गर्ने क्रममा राज्यमा सयौं घर र पसल जलाएका छन् भने राज्यका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । मणिपुरमा शान्ति पुनःस्थापनाका लागि सङ्घीय सरकारले हालसम्म गरेका प्रयासहरूले अपेक्षित परिणाम ल्याउन सकेको छैन ।    
    
उक्त राज्यमा सोमबार भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गैरआदिवासी मेइतेई समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा हिंसा भड्किएको हो ।    

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update