RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । गत साता साढे ४ प्रतिशतभन्दा बढी घटेर बन्द भएको नेप्से यस साताको पहिलो कारोबार दिन बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक २८.३८ अंक बढेर २०७७.७७ विन्दुमा पुगेको छ ।

आज २८७ स्टकको ७३ हजार ४४६ पटकको कारोबारमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार रुपैयाँ बराबरको ८३ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सूचीकृत भएदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ३० रुपैयाँ १० पैसा बढेर ३३१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, आज सिटी होटलको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । अप्पर तामाकोशीको शेयरमूल्य सर्वाधिक ६.६५ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको १८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । शिवम् सिमेन्ट्को १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने वित्त, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update