
रमेश हुतवाली/काठमाण्डू । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन र नेपालबीचको सम्बन्ध दिनानुदिन प्रगाढ बन्दै गैरहेको बताउनु भएको छ ।
नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले चिनियाँ नयाँ वर्ष बसन्त चाडको समापन र चिनियाँ लालटिन चाडको अवसरमा आज काठमाण्डूमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा बोल्नुहुँदै राजदूत छन् सोङले सो विचार व्यक्त गर्नुभएको हो ।
छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत
चीन र नेपालबीच धार्मिक तथा साँस्कृतिक क्षेत्रमा धेरै मिल्दाजुल्दा विषयहरु रहेको जानकारी दिनुहुँदै राजदूत छन् सोङले चिनियाँ नयाँ वर्ष र लालटिन पर्व नेपाली जनताले मनाउने दशैं र चाड जस्तै भएको बताउनु भयो । राजदूत छन् सोङले यस वर्ष चीन र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा भएको स्मरण गर्नुहुदै दुई देशका जनता र सरकारबीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । साथै राजदूत छन् सोङले कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भैरहने पनि बताउनुभयो ।
डा. हरिश्चन्द्र शाह, अध्यक्ष, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्
कार्यक्रम आयोजक संस्था नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले नेपाल र चीनबीच ऐतिहासिक कालदेखिनै प्रगाढ सम्बन्ध रहँदै आएको बताउनुभयो । संयुक्त राष्ट्रसंघीय महासभाको ७८ औं अधिवेशनले चन्द्रमासको चिनियाँ नयाँ वर्षलाई दिवसका रुपमा मनाउने प्रस्ताव सर्वसम्मतीले पारित गरेसँगै चिनियाँ नयाँ वर्षलाई विश्वव्यापी रुपमा मनाउन थालिएको डाक्टर शाहको भनाइ छ । नेपालमा विभिन्न पेशा र व्यवसायमा सम्लग्न रहँदै आउनु भएका चिनियाँ पाहुनाहरुलाई बसन्त चाडमा घरको सम्झना आउने हुनाले त्यसको झल्को मेटाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी डाक्टर शाहले दिनुभयो ।
सो समारोहमा नेपाली कलाकारहरुले मयुर नृत्य, तामाङ सेलो, चाइनिज कम्फु र झिझिया नृत्य प्रस्तुत गरेका थिए भने चिनियाँ कलाकारहरुले चिनियाँँ गीत गाएर अतिथीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
दिलिप आचार्य, महासचिव, नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्
नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का महासचिव दिलिप आचार्यले दुवै देशबीच समय समयमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुले एकअर्का देशका जनतामाझको आत्यिमतालाई अझ घनिभूत गर्ने भएकाले पनि यस्ता कार्यक्रमहरुको आयोजना हुनु महत्वपूर्ण हुने बताउनुभयो । महासचिव अचार्यले विगत लामो समयदेखि नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न परिषद् क्रियाशिल रहेको जानकारी पनि दिनुभयो ।
चिनियाँ लालटिन पर्वको अवसरमा चिनियाँ नागरिक चन्द्रमाको दर्शन गर्ने, विभिन्न उखान टुक्काहरु भन्ने, मीठा मीठा परिकार खाने र जताततै झिलिमिली वत्ति बालेर रमाईलो गर्ने गर्दछन् ।