RayNewsDaily
शेयर बजार स्थिर

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार स्थिर रहेको छ । हिजो २०४९.४४ विन्दुमा बन्द भएको शेयर मापक नेप्से परिसूचक आज ०.०६ अंक घटेर २०४९.३८ विन्दुमा झरेको छ ।

आज २८० स्टकको ६९ हजार ६५५ पटकको कारोबारमा ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, अपर तामाकोशी हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । मोदी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अरुण भ्यालीको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । प्रभु बैंकको संस्थापक शेयर करिब १७ करोडको खरिदबिक्री भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ भने विकास बैंक, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update