RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । तीन दिन लगातार घटेपछि शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १२.७३ अंक बढेर २०८८.७० विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २८२ स्टकको ४६ हजार ७३१ पटकको कारोबारमा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो होटलको शेयरमूल्य ५० रुपैयाँ ८० पैसा बढेर ५५९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, मानुषी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिंगटी हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । बिपिडब्लु लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य १५५ रुपैयाँ ४० पैसा घटेर १ हजार ३९९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट्को ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ । वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update