RayNewsDaily
आज पनि घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार निरन्तर तेस्रो कारोबार दिन पनि घटेरै बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार मापक नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

नेप्से परिसूचक आज २१.३२ अंक घटेर २०७५.९७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २७६ स्टकको ६४ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको ९४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज सिवाईसी लघुवित्त वित्तीय संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ८.९५ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटल र नागरिक लगानी कोषको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत बढेको छ । बैंकिङ्ग, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update