RayNewsDaily
शब्दरुपी ब्रह्म शब्दब्रह्म   

-रिताकुमारी बस्नेत, काठमाडौं । 

 शब्द हो ब्रह्म शब्द नै ज्ञान    
 सधैँ सत्य बोलौँ, बनौँ महान्    
    
 शत्रु–मित्रु सब मुखकै कारण,    
 मन्त्र वा श्राप बन्छ उच्चारण ।    
 सोचौँ, सम्झौँ, शब्द केलाऔँ,    
 अपशब्दहरुमा लगाम लगाऔँ ।    
    
 आफ्नो कविता सङ्ग्रह शब्दब्रह्ममा कवि डा भानुभक्त आचार्यले यसरी प्रस्तुत गर्नुभएको छ शब्दको महत्व र शक्ति । शब्द ज्ञान र ब्रह्म हो भनेर आफ्नो कविता सङ्ग्रहको पहिलो कविता प्रस्तुत गरेका कवि डा आचार्यले शब्दको प्रयोग गर्दा सोचेर, सम्झेर र केलाएर मात्र प्रयोग गर्न भन्नुहुन्छ ।    
    
 उक्त कविताले शान्ति त छँदैछ छ क्रान्ति पनि शब्दमय छ भन्नुभएको छ भने मुखलाई रोकेर हृदय चलाउन र मधुर वचनले मात्र सभ्य संसार बन्ने सन्देश दिन खोज्नुभएको छ ।    
    
 आफ्नो कविता सङ्ग्रहको नाम शब्दब्रह्म राखेकामा कवि डा भानुभक्त आचार्यले पुस्तकको भूमिकामा पनि अथ्र्याउनुभएको छ ।    
    
 उहाँ लेख्नुहुन्छ, “हाम्रा धर्मशास्त्रमा वर्णित विभिन्न पात्रले वरदान दिन होस् वा श्राप दिन वा साधना गर्न होस् वा सृष्टि गर्न शब्दहरुको रणनीतिक प्रयोग गरेका छन् । सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ । यो आफैँमा ब्रह्ममय छ । शब्दहरुले वेदका ऋचा बनेका छन् । गायत्री मन्त्रलगायत हरेक शक्ति, साधना र उपासनाका मन्त्रहरु शब्दमय छन् । त्यसैलाई मैले शब्दब्रह्म शीर्षक कवितामा भनेको छु, शब्दमै सृष्टि, स्थिति र लय छ ।”    
    
 त्यसो त शब्दको प्रयोग नहुने ठाउँ नै छैन । शब्दब्रह्म कविता सङ्ग्रहमार्फत कविका रुपमा उदाएका डा आचार्य पत्रकार र यसै विषयमा प्राध्यापन गर्नुहुन्छ । पत्रकारिता शब्दहरुकै पेसा हो, शब्दपर पनि त्यहाँ सञ्चार त छ तर त्यसले पनि असङ्ख्य शब्द बोकेको हुन्छ भन्नुहुन्छ ।    
शब्दब्रह्मकै शक्ति र आफ्नो पुस्तकको नामकै बचाउमा उहाँ लेख्नुहुन्छ, “पौराणिक वा दार्शनिक विश्लेषणबाट अहिलेको वस्तुस्थितिमा फर्कने हो भने पनि शब्द ब्रह्ममय छ । आमसञ्चार र पत्रकारिता पेसामा मात्र होइन कूटनीति, राजनीति, अर्थनीति, संस्कृति आदि सबै पेसा व्यवसायमा शब्दहरुको प्रयोग, सदुपयोग र पुनःप्रयोग गरिन्छ । अर्थात् हामी जेसुकै पेसा वा व्यवसायमा संलग्न भए पनि शब्दहरुको कारखानामा जोडिएकै छौँ । सुशब्दले हाम्रो मर्यादा र इज्जत बढाएको छ, कुशब्दले हामीलाई दुःख दिएको छ, तड्पाएको छ । त्यसैले त ‘मन्त्र वा श्राप बन्छ उच्चारण’ भनिएको हो ।”    
    
 आवरण प्रकाशनले बजारमा ल्याएको शब्दब्रह्म कविता सङ्ग्रहको सार्वजनिकीकरण समारोहमा शुक्रबार उपस्थित विशिष्ठ व्यक्तित्वहरुले यो तथ्यकै वरपर रहेर विवेचना गर्नुभयो । धार्मिक आध्यात्मिक चिन्तक एलपी भानु शर्माले शब्दको शक्तिलाई कुनै वस्तु या चिन्तनसँग मापन गर्न नसकिने बताउँदै यो कविता सङ्ग्रहमा प्रयोग भएका शब्दहरु ब्रह्मास्वरुप रहेका चर्चा गर्नुभयो ।    
    
 पूर्वीय दर्शनका अध्येता एवं जीवन विज्ञानका संस्थापकसमेत रहनुभएका शर्माले शब्दको गरिराइमा पुग्यौँ भने शब्दब्रह्म भन्ने कुरा थाहा हुने भन्दै आस्तिक होस या नास्तिक, शब्द बुझ्यो भने उ तत्काल आध्यात्मिक हुने बताउनुभयो । शब्दले शान्ति र क्रान्ति दुवै खडा गर्नसक्ने भन्दै उहाँले शब्दमै सृष्टि, स्थिति र लय हुने भएकाले शब्दब्रह्म कृति अमर रहेको बताउनुभयो ।    
    
 वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लेखकले कृतिमार्फत जीवन र जगतका बारेमा निर्मम प्रहार गर्ने प्रयास गर्नुभएको बताउनुभयो । पत्रकारले कुन र कस्ता शब्दले प्रहार गर्दा त्यसको प्रभाव पर्छ भन्ने थाहा पाएकाले नै कविताका शब्दलाई बेजोड बनाउन सकेको अनुभव उहाँले सुनाउनुभयो ।    
    
 वरिष्ठ पत्रकार बबिता बस्नेतले सात समुद्रपारि बसेर पनि नेपालका हरेक प्रकारका घटनामा जानकारी राख्ने लेखक आचार्यले समाजका कतिपय विकृतिहरुलाई उजागर गरेर समाजलाई सचेत गराउने प्रयास गरेको टिप्पणी गर्नुभयो । अरु सबै अस्त्रहरु सकिएपछि ब्रह्मस्त्र प्रयोग गरिने प्रसङ्ग उल्लेख गर्दै कविता सङ्ग्रहमा प्रयोग भएका शब्द पनि ब्रह्मास्त्रकैरुपमा अध्ययन गर्न सकिने वरिष्ठ पत्रकार बस्नेतले उल्लेख गर्नुभयो ।    
    
 प्रकाशक संस्था आवरण प्रकाशनका अध्यक्ष कवि रमेश पौडेल र पत्रकारिताका प्राध्यापक डा निर्मलमणि अधिकारीले शब्दहरुको शक्तिले शब्दब्रह्म कविता सङ्ग्रहलाई शक्तिशाली बनाएको चर्चा गर्नुभयो ।    
    
 लेखक डा आचार्यले कृतिमा समेटिएका कविताले समाज, राजनीति, पत्रकार र आफैँमाथि पनि व्यङ्ग्य गरिएको बताउँदै शास्त्रीय किसिमका नभई शब्दको प्रयोग गरी समाजको आलोचना गर्ने किसिमले कविता प्रस्तुत गरिएको भनाइ राख्नुभयो । पत्रकार, राजनीतिज्ञदेखि लिएर सबै पेसा र व्यवसायका व्यक्ति नै शब्दका खेलाडी भएकाले शब्दको प्रयोगमा अनुशासित बन्न यस कविता सङ्ग्रहले सिकाउने उहाँले बताउनुभयो ।    
    
शब्दब्रह्म कविता सङ्ग्रहमा शब्दब्रह्म, रजस्वला, आमा कि ईश्वर, गुरुदक्षिणा, म पुस्तक, हामी बालक, भाषाको धर्म, सहिद र स्यालुट, नेपाली, छोरी, जिन्दगी, मृत्युको गोलाप्रथालगायतका ५४ कविता सङ्ग्रहित छन् ।    

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update