RayNewsDaily
शेयर बजारमा  ३५  अंकको गिरावट

काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयर बजार आज घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ३५.३७ अंक घटेर २१५०।९९ विन्दुमा झरेको छ । आज कारोबारका क्रममा नेप्से परिसूचक २२०५.९७ विन्दुसम्म पुगेको भए पनि अन्तिम समयमा भने घटेर बन्द भएको छ ।

आज २८० स्टकको ८२ हजार ३५९ पटकको कारोबारमा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामुदायिक लघुवित्त र शुभम् पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । इङ्वा हाइड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी शिवम् सिमेन्ट्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक आज सर्वाधिक ३.२१ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update