RayNewsDaily
शेयर बजार साढे ४ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । शेयर बजारमा आज उच्च अंकले वृद्धि भई नेप्से परिसूचक साढे ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक ५६.९४ अंक बढेर २१८६.३६ विन्दुमा पुगेको छ । यसअघि गत माघ २६ गते नेप्से परिसूचक २१८२.६३ विन्दुमा पुगेको थियो । सोपश्चात यसै दिन नेप्से सो उचाइमा पुगेको हो ।

आज २७५ स्टकको ८० हजार ३९८ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ३१ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज ३३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । त्यसैगरी, अन्य १० स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । आज ३७ स्टकको मूल्य घटेको छ । यद्यपि, स्टकहरुको मूल्य गिरावट दर भने कम रहेको छ । १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।

लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ । आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने आज घटेका छन् ।

कारोबार रकमका आधारमा आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको  २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स र सोल्टी होटलको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update