RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक अघिल्ला तीन कारोबार दिन निरन्तर घटेर बन्द भएकोमा आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ४.७५ अंक बढेर २०५५.५३ विन्दुमा पुगेको छ । आज दोस्रो बजारका लगानीकर्ताहरु होटल तथा बीमा कम्पनीहरुमा आकर्षित भएका छन् ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक ३.२४ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको २.७७ प्रतिशत बढेको छ । घटेका ९ उपसमूहमध्ये जलविद्युत् र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तारागाउँ होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन, बिपिडब्लु, सिटी होटल र हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य यस दिन सर्वाधिक ८.४१ प्रतिशत घटेको छ ।

आज २७६ स्टकको ५६ हजार ५५६ पटकको कारोबारमा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम १४ करोड नाघेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update