RayNewsDaily
शेयर बजार ५२ अंकले वृद्धि

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारले आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि ५ अर्ब नजिक पुगेको छ । आज ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ । एक महिनाअघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ । 

बजार निरन्तर बढ्दा लगानीकर्ताको आकर्षण होटल र बिमा कम्पनीहरुमा धेरै देखिएको छ । आज जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटल उपसमूहको ६.१५ प्रतिशत, अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ । आज नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेन्चर कम्पनी, सुपरमादी हाइड्रो पावर लगायत ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सुभम् पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ४.०८ प्रतिशत र भूगोल इनर्जीको ३.७३ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९२ लाख, सोल्टी होटलको १६ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update