RayNewsDaily
शेयर बजारमा लगातार वृद्धि, एक अर्बभन्दा बढीको कारोबार

काठमाडौं । पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

२०८० साल सुरु भएपछि पहिलो पटक १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । आज बजारमा २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस अघि २०७९ सालको अन्तिम कारोबार दिन १ अर्बभन्दा बढीको कारोबार भएको थियो । आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, आज शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशतले बढेको छ । आज व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशतले बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update