RayNewsDaily
शेयर बजार ४० अंकले वृद्धि, ३ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा आज ठूलो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४०.४८ अंक बढेकोर १९८०.०९ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । आज २७५ स्टकको ६१ हजार ४५० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो साढे ४ महिनायताकै उच्च हो । यसअघि गत वर्षको माघ ११ गते नेप्सेमा ३ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, मकर जीतुमाया सुरी हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज २३ स्टकको मूल्य भने घटेको छ ।

कारोबार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसै गरी शिवम् सिमेन्ट्स र आइएमई जनरल इन्स्योरेन्सको १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update