RayNewsDaily
     तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो   

गलकोट (बागलुङ) । विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।    
    
तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गर्नुभएको रु ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताउनुभयो ।    
    
त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । “सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो”, क्याम्पसप्रमुख उपाध्यायले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न रु एक करोड बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उहाँले बताउनुभयो । भवन अपाङ्गमैत्री हुनेछ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update