इरानमा विषाक्त मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु, ८६५ बिरामी
इरानमा विषाक्त मादक पेय पदार्थ सेवनबाट बिरामी परेका व्यक्तिको अस्पतालमा उपचार हुँदै ।
  • इरानमा गुणस्तरहीन मादक पेय पदार्थ सेवनबाट कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
  • विषाक्त पेय पदार्थ सेवनबाट ८६५ जना बिरामी परेका छन्, १६० जना अस्पतालमा भर्ना ।
  • २४ जना सघन उपचार कक्षमा, आठ जनामा मादक पदार्थका कारण मस्तिष्कमा असर ।

तेहरान । इरानका विभिन्न प्रदेशमा गुणस्तरहीन मादक पेय पदार्थ सेवनबाट कम्तीमा ३२ जनाको मृत्यु भएको छभने ८६५ जना बिरामी परेका छन् । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ३१ देखि विषाक्त पेय पदार्थ सेवनका कारण बिरामी हुने क्रम देखिएको हो ।

मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल एक्समा शनिबार सार्वजनिक गरेको विवरणअनुसार विषाक्तताका लक्षण देखिएपछि देशभरका स्वास्थ्य केन्द्रमा ८६५ जना उपचारका लागि पुगेका छन् । तीमध्ये ७४६ पुरुष र ११९ महिला छन् ।

उहाँका अनुसार दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको छ । त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ । हाल १६० जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । तीमध्ये २४ जनालाई सघन उपचार कक्षमा राखिएको छ ।

विषाक्त मादक पदार्थ सेवनका कारण आठ जनामा मस्तिष्कमा असर परेको सङ्केत देखिएको केरमानपोरले बताउनुभएको छ । इरानमा मादक पेय पदार्थको उत्पादन, बिक्री तथा सेवन अवैध मानिन्छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update