- ग्रामीण बस्तीमा एआई उद्यमलाई अनुदान, निःशुल्क कार्यालय र आवास सुविधा ।
- सहरको व्यस्त जीवनशैलीबाट टाढा रहेर काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारी आकर्षित ।
- एआई उद्यममार्फत ग्रामीण अर्थतन्त्र र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य ।
चीन । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् । सहरको व्यस्त जीवनशैलीबाट टाढा शान्त वातावरणमा काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारीलाई आकर्षित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो ।
साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको काओजिङ सहरले गत अप्रिलदेखि साना एआई उद्यमलाई अनुदान, निःशुल्क कार्यालय र आवास सुविधा उपलब्ध गराउन थालेको छ । योग्य उद्यमले अधिकतम १० हजार युआन अनुदान र एक महिनाको निःशुल्क आवास सुविधा पाउनेछन् ।
यो पहल चीनको ‘एआई प्लस’ नीतिअन्तर्गत शिक्षा तथा दैनिक जीवनका विभिन्न क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रयोग विस्तार गर्ने प्रयासको एउटा हिस्सा हो ।
तीन महिनाअघि श्रीमतीसँगै काओजिङको शुइकु गाउँमा बसाइँ सर्नुभएका ३८ वर्षीय अङ्ग्रेजी शिक्षक विन्ड लिउले एआई उपकरण प्रयोग गरेर सामाजिक सञ्जालका लागि शैक्षिक भिडियो बनाउँदै आउनुभएको छ ।
“म अनलाइन हुनुपर्छ । मलाई ग्राहक चाहिन्छ । प्रविधिसँग सम्बन्ध राख्नैपर्छ,” उहाँले भन्नुभयो ।
लिउका अनुसार गाउँको शान्त वातावरणले चीनका ठूला सहरमा प्रचलित ‘९९६’ कार्यशैलीबाट राहत दिएको छ । उक्त कार्यशैलीमा बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्तामा छ दिन काम गर्नुपर्छ ।
गाउँमा बस्न आउनेहरू बढी स्वतन्त्रता र एकाग्रता चाहने मानिस भएको समुदायकी परियोजना प्रमुख बाइचाओ लीले बताउनुभयो । उहाँका अनुसार उनीहरू सूचना प्रविधि क्षेत्रमा रहेको अत्यधिक कामको दबाबबाट टाढा रहन चाहन्छन् ।
चीनमा प्रतिस्पर्धात्मक जीवनशैलीबाट टाढा रहने प्रवृत्तिलाई ‘लेटिङ फ्ल्याट’ भनिन्छ । तर स्थानीय अधिकारीहरूले यस्ता गाउँलाई निष्क्रियताको केन्द्र नभई नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न खोजेका छन् ।
चीनको एआई विकासबारे अध्ययन गर्ने गोभएआईकी अनुसन्धानकर्ता जिलान छियानले गाउँमा आउने मानिसहरू काम गर्न नचाहने नभई परम्परागत कार्यशैलीको दबाबबाट टाढा रहन चाहने बताउनुभयो । उहाँका अनुसार उनीहरूले आफ्नै उद्यम स्थापना गरेर स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्छन् ।
लिउको विश्वासमा सन् २०३० सम्ममा एआईले ९० प्रतिशत रोजगारी समाप्त गर्न सक्छ । उहाँका अनुसार एआई उपकरणले अहिले पटकथा लेखन, आवाज रेकर्डिङ र भिडियो सम्पादनजस्ता काम गर्न थालेका छन् । यद्यपि, नयाँ प्रविधि स्वीकार गर्ने चिनियाँहरूको क्षमताप्रति आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
गाउँमा नयाँ मानिसहरूको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको एक स्थानीय महिलाले बताउनुभयो । तर वृद्ध स्थानीय बासिन्दा र नयाँ आगन्तुकबीच प्रत्यक्ष सम्पर्क भने सीमित रहेको छ । समुदायले आयोजना गर्ने कार्यक्रममा गाउँका वृद्धवृद्धाको सहभागिता पनि न्यून रहेको छ । एएफपी
