अस्ट्रेलियाको भिक्टोरियामा लेबर पार्टीको ऐतिहासिक हार, १२ वर्षपछि लिबरल गठबन्धन सत्तामा
चुनावी अभियानका क्रममा समर्थकहरूसँग लिबरल पार्टीकी नेतृ जेस विल्सन ।
  • भिक्टोरिया राज्यमा १२ वर्षदेखि सत्तामा रहेको लेबर पार्टी चुनावमा नराम्ररी पराजित भएको छ ।
  • लिबरल-नेसनल गठबन्धनले बहुमत हासिल गरेपछि ३६ वर्षीया जेस विल्सन मुख्यमन्त्री बन्ने हुनुभएको छ ।
  • लेबर पार्टीको विपक्षी दलको हैसियतसमेत गुम्न सक्ने, ग्रीन्स पार्टी दोस्रो ठूलो दल बन्ने सम्भावना ।

मेलबर्न  । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा सत्तारुढ लेबर पार्टीले निर्वाचनमा ठूलो पराजय भोगेको छ । यससँगै लिबरल-नेसनल गठबन्धन १२ वर्षपछि राज्यको सत्तामा फर्किने भएको छ ।

शनिबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार गठबन्धनले राज्यको ८८ सदस्यीय तल्लो सदनमा बहुमत हासिल गरेको छ । आधाभन्दा बढी मतगणना भइसकेको अवस्थामा गठबन्धनले कम्तीमा ४९ सिट जित्ने प्रक्षेपण गरिएको छ ।

लेबर पार्टीको सिट सङ्ख्या भने निकै घट्ने देखिएको छ । स्थानीय सञ्चारमाध्यमका प्रक्षेपणअनुसार पार्टी तेस्रो ठूलो दलमा सीमित हुन सक्नेछ । ग्रीन्स पार्टीले लेबरलाई उछिनेर प्रमुख प्रतिपक्षी दल बन्ने सम्भावनासमेत देखिएको छ ।

लिबरल पार्टीकी ३६ वर्षीया नेतृ जेस विल्सन भिक्टोरियाको नयाँ मुख्यमन्त्री बन्नुहुनेछ । उहाँ राज्यको निर्वाचनबाट मुख्यमन्त्री निर्वाचित हुने पहिलो महिला हुनुहुनेछ । उहाँ भिक्टोरियाको इतिहासमा सबैभन्दा कम उमेरकी मुख्यमन्त्रीसमेत बन्नुहुनेछ ।

विल्सनले राज्यको बढ्दो ऋण घटाउने, सडक पूर्वाधार सुधार गर्ने र अपराध नियन्त्रण गर्ने विषयलाई चुनावी अभियानको प्रमुख मुद्दा बनाउनुभएको थियो । उहाँले राज्यको वित्तीय अवस्था सुधार गर्न विभिन्न योजना अघि सार्नुभएको छ ।

चुनावी नतिजा आफ्नो पक्षमा आएपछि विल्सनले भिक्टोरियामा पुनः आशा जगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनताले दिएको विश्वासलाई सम्मान गर्दै जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

लेबर पार्टीका नेता तथा निवर्तमान मुख्यमन्त्री बेन क्यारोलले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन सक्नुभएन । उहाँले हार स्वीकार गर्दै निर्वाचन परिणामको जिम्मेवारी लिने बताउनुभएको छ ।

भिक्टोरियामा लेबर पार्टीको पराजयलाई अस्ट्रेलियाको राजनीतिमा ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । यसले सङ्घीय तहमा प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीमाथि पनि दबाब बढाउन सक्ने विश्लेषण गरिएको छ । यद्यपि निर्वाचन मुख्यतः राज्यका मुद्दामा केन्द्रित रहेको विश्लेषकहरूको भनाइ छ ।

लिबरल सिनेटर जेम्स प्याटरसनले राष्ट्रिय प्रसारक एबीसीसँग कुरा गर्दै एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेको लेबर पार्टीप्रति मतदाताले चकित पार्ने र विनाशकारी अस्वीकार व्यक्त गरेको बताउनुभएको छ ।

बढ्दो जीवनयापन खर्च, राज्यको ऋण, सडकको अवस्था र अपराधका विषयमा मतदाताको असन्तुष्टि लेबर पार्टीको पराजयका प्रमुख कारणका रूपमा हेरिएको छ ।

यस निर्वाचनमा ग्रीन्स पार्टीले पनि उल्लेख्य सफलता हासिल गरेको छ । प्रारम्भिक परिणामअनुसार पार्टीले कम्तीमा छ सिट जितिसकेको छ । थप सिटमा अग्रता कायम गरेकाले लेबर पार्टीलाई उछिनेर प्रमुख प्रतिपक्षी दल बन्ने सम्भावना छ ।

अति-दक्षिणपन्थी वन नेसन पार्टीले पनि यस निर्वाचनमा आफ्नो मत बढाएको छ । प्रारम्भिक मतगणनामा उक्त पार्टीले तल्लो सदनमा कम्तीमा एक सिट जित्ने सम्भावना देखिएको छ ।

पार्टीकी नेतृ पलिन ह्यान्सनले लेबर पार्टीको पराजयलाई आफ्नो दलको सफलताका रूपमा व्याख्या गर्नुभएको छ । शनिबार आयोजित सभामा उहाँले भन्नुभयो, “यो तपाईंहरूले गर्नुभएको हो । जनताले नै गरेका हुन् ।”

वन नेसन पार्टीले आव्रजन, आवास र जीवनयापन खर्चका विषयमा बढ्दो असन्तुष्टिबाट राजनीतिक लाभ लिएको देखिएको छ ।

मतगणना जारी रहेकाले केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले तल्लो सदनको मतगणना पूर्ण हुन अझै केही समय लाग्ने जनाएको छ । एएफपी

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update