झारखण्डमा भीषण सडक दुर्घटना, चार बालबालिकासहित १३ जनाको मृत्यु
  • बिहारबाट तीर्थयात्रामा निस्किएका १४ जना सवार स्कोर्पियो दुर्घटनामा परेको ।
  • मृतकमा चार बालबालिका, चार महिला र पाँच पुरुष रहेको भारतीय सञ्चारमाध्यमको खबर ।
  • दुर्घटनामा एक जना गम्भीर घाइते, अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको ।

काठमाडौं । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा भएको सवारी दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

राँची-पटना राजमार्गअन्तर्गत राष्ट्रिय राजमार्ग-३३ को पैंकी गाउँनजिक आइतबार बिहान करिब २ बजे दुर्घटना भएको हो । बिहारको नालन्दा जिल्लाबाट झारखण्डको रजरप्पा मन्दिरमा पूजाआजा गर्न जाँदै गरेको स्कोर्पियो अर्को सवारीसाधनसँग ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्कोर्पियोमा १४ जना सवार थिए । दुर्घटनापछि सबैलाई रामगढस्थित सदर अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले १३ जनालाई मृत घोषणा गरेका थिए । घाइते एक पुरुषको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालका सिभिल सर्जन डा. अनिलकुमारले बताएका छन् ।

मृत्यु हुनेमा चार बालबालिका, चार महिला र पाँच पुरुष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू सबै बिहारको नालन्दा जिल्लास्थित जंघारो गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

रामगढका अनुमण्डल प्रहरी पदाधिकारी आलोक रञ्जनका अनुसार दुर्घटनामा परेका सबै व्यक्ति नालन्दा जिल्लाका हुन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update