काठमाडौं । विश्व एक्युपञ्चर दिवसको अवसरमा नेपालमा अकुपञ्चर उपचार पद्धतिबारे जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा नेपाल-चीनबीच स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विश्व अकुपञ्चर दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल चाइनिज मेडिसिन चिकित्सक समाज र नेपालस्थित चाइना कल्चरल सेन्टरको संयुक्त आयोजनामा हिजो अकुपञ्चर स्वास्थ्य शिविर तथा अकुपञ्चर अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत अकुपञ्चर उपचार पद्धतिको महत्व, यसको व्यावहारिक प्रयोग, अनुभव तथा सम्भावनाबारे जानकारी आदानप्रदान गर्ने लक्ष्य राखिएको आयोजक नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजले जनाएको छ । यस कार्यक्रममा नेपालस्थित १७ औँ चिनियाँ मेडिकल टोली, अकुपञ्चर मोक्सिबुस्टन एन्ड एक्युप्रेसर एसोसिएसन नेपाल तथा डिभाइन युथ क्लब नेपालले सहयोग रहेको थियो ।

आयोजित कार्यक्रमअन्तर्गत हिजो बिहान ६ बजेदेखि ११ बजेसम्म भक्तपुरको ठिमिस्थित श्यामा श्यामा धाममा निशुल्क अकुपञ्चर स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा सर्वसाधारणलाई अकुपञ्चर उपचार पद्धतिबारे जानकारी दिनुका साथै स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श उपलब्ध गराइएको थियो । शिविरमा अकुपञ्चर उपचार पद्धति मार्फत् स्थानीयहरुले आफ्नो विभिन्न समस्याहरुको उपचार गराएका थिए । साथै उनीहरुले अकुपञ्चर उपचार पद्धतिको प्रभावका विषयमा सकारात्मक धारणा समेत राखेका थिए । हिजो आयोजित निशुल्क अकुपञ्चर स्वास्थ्य शिविरमा १ सय ५० जनाले स्वास्थ्य परिक्षण, परार्मश र सेवा लिएका थिए ।


त्यसैगरी, हिजो कार्यक्रमको दोस्रो सत्रमा काठमाडौंस्थित होटल साम्बालामा अकुपञ्चर अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल तथा चीनका स्वास्थ्य क्षेत्रका प्रतिनिधि, चिकित्सक, विज्ञ , सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागितामा अकुपञ्चर उपचार पद्धतिको अभ्यास, अनुभव, उपलब्धि र यसको भविष्यका सम्भावनाबारे छलफल तथा विचार आदानप्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चाइनिज मेडिसिन चिकित्सक समाज पूर्वअध्यक्ष डा.झुलाराम अधिकारीले विश्व अकुपञ्चर दिवशका दिन आयोजित यो कार्यक्रम कुनै उपचार पद्धति र कसैको पनि विरुद्धमा नभई विरामीको हितमा हातेमालो गर्दै काम गर्ने उत्सवको रुपमा आयोजना गरिएको बताउनुभयो । आयोजक संस्था नेपाल चाइनिज मेडिसिन चिकित्सक समाज सन् २०१६ मा स्थापना भएको र यसले परम्परागत चिनियाँ मेडिसिन र चिनियाँ चिकित्सा पद्धतिको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । निकट भविष्यमा नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजले अकुपञ्चरसँग सम्बन्धित विश्वस्तरीय सम्मेलन गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रमको सहआयोजक चीन सांस्कृतिक केन्द्र नेपालका निर्देशक लिउ चानफिङले अकुपञ्चर चीनको पुरानो चिकित्सा पद्धति भएको जानकारी दिँदै पछिल्लो समय यसको महत्व जापान, युरोप र नेपालसँगै अन्य एसियाली देशमा पनि बढ्दै गएको बताउनुभयो । नेपालको पुरानो पद्धति आर्युवेद र चीनको पुरानो पद्धति अकुपञ्चरलाई मिलाएर नेपाल र चीनका नागरिकहरुको स्वास्थ्य सुधारमा काम गर्न सकिने र यसका लागि भविष्यमा सहकार्य गर्न केन्द्र तयार रहेको पनि उहाँले बताउनुभयो ।
अकुपञ्चर चीनको पुरानो परम्परागत उपचार पद्धति भएपनि यसको प्रयोग आधुनिक उपचार प्रणाली पनि हुने कार्यक्रममा सहभागी विज्ञहरुको भनाइ थियो ।
अन्नपुर्ण न्युरो हस्पिटलको स्नायु विभागका वरिष्ठ स्नायु विशेषज्ञ डा. अभिनाश चन्द्रले नशासँग सम्बन्धित रोग र उपचारमा अकुपञ्चरको प्रयोग सम्बन्धमा विशेष प्रस्तुति दिनुभएको थियो । उहाँका अनुसार अकुपञ्चरको प्रयोग दुखाई, मांसपेशीको कडापन, माइग्रेन लगायतका विभिन्न स्नायुसँग सम्बन्धित समस्याहरुमा प्रभावकारी सावित भएको र आफु पनि आफ्ना विरामीहरुलाई अकुपञ्चरका लागि सुझाव दिएको बताउनुभयो । अकुपञ्चरको प्रयोगबाट नशासँग सम्बन्धित यी समस्याहरुमा आएको सकारात्मक नतिजा पुरानो र नयाँ उपचार पद्धतिबीच प्रतिस्पर्धा नभई हातेमालो हुनुपर्ने सन्देश जाने डा. अभिनाशले बताउनुभयो ।
यस्तै, अन्नपूर्ण न्युरो हस्पिटलका हाडजोर्नी विशेषज्ञ डा. मनिश विक्रम शाहले अकुपञ्चरले हाडजोर्नीका अनेकन समस्यालाई हल गर्न मद्धत गर्ने बताउनुभयो । कार्यक्रममा हाडजोर्नीमा अकुपञ्चरको प्रयोगका विषयमा प्रस्तुति दिँदै डा. शाहले अकुपञ्चरको प्रयोग जोर्नीसम्बन्धि रोगहरु, मेरुदण्डको समस्या, टेन्डोन तथा लिगामेन्टको समस्या, सफ्ट टिस्युको समस्या, हाड तथा मांसपेशीसँग सम्बन्धित नशासम्बन्धि समस्या र केही हाड तथा मांसपेशीसँग सम्बन्धित समस्यामा प्रभावकारी सावित भएको बताउनुभयो । अकुपञ्चर पद्धतिका कारण आफुले गर्नुपर्ने हाडजोर्नीसँग सम्बन्धित कतिपय अपरेसनहरु पनि टरेको भन्दै डा. शाहले आफ्नो अनुभव पनि सुनाउनुभएको थियो ।
यस्तै, कार्यक्रममा अन्य उपस्थित स्वास्थ्य विज्ञहरुले अकुपञ्चरसम्बन्धीको प्रयोग र यसले आम नागरिकहरुको स्वास्थ्य समस्या निदानमा खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रमले अकुपञ्चरको सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरेको छ । साथै, परम्परागत चिनियाँ चिकित्सा पद्धतिबारे नेपाली स्वास्थ्यकर्मी तथा सर्वसाधारणमा थप जानकारी पुर्याउन र यस क्षेत्रमा अध्ययन, अनुसन्धान तथा व्यावसायिक सहकार्यका अवसर पहिचान गर्न कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धसँगै स्वास्थ्य, शिक्षा, संस्कृति तथा जनस्तरको सहकार्य पनि निरन्तर विस्तार हुँदै आएको छ । विशेषगरी चीनले नेपालमा उपलब्ध गराउँदै आएको स्वास्थ्य सहयोग तथा चिनियाँ मेडिकल टोलीमार्फत प्रदान गरिँदै आएका सेवाले दुई देशबीचको स्वास्थ्य सहकार्यलाई थप अर्थपूर्ण बनाएको छ । विश्व एक्युपञ्चर दिवसको अवसरमा आयोजना गरिएका यी कार्यक्रमले परम्परागत उपचार पद्धतिबारे जनचेतना विस्तार गर्नुका साथै नेपाल र चीनबीचको स्वास्थ्य क्षेत्रको अनुभव, ज्ञान र प्रविधि आदानप्रदानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजक नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजले जनाएको छ ।
अकुपञ्चर चीनमा विकसित भएको हजारौँ वर्ष पुरानो परम्परागत चिकित्सा पद्धतिमध्ये एक हो ।

शरीरका निश्चित बिन्दुमा मसिना सुईको प्रयोग गरी गरिने यस उपचार विधिलाई विशेषगरी दुखाइ व्यवस्थापनलगायत विभिन्न स्वास्थ्य अवस्थाको उपचारमा प्रयोग गरिँदै आएको छ । पछिल्लो समय परम्परागत चिकित्सा पद्धतिप्रति विश्वव्यापी चासो बढ्दै जाँदा अकुपञ्चर पनि अन्तर्राष्ट्रिय स्तरमा परिचित र अभ्यास हुँदै आएको उपचार विधिका रूपमा स्थापित भएको छ ।

फोटोः डिभाइन युथ क्लब नेपाल
