पेरिस, ६ मङ्सिर । फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले महिलाको महिनावारी चक्र र प्रजनन स्वास्थ्यमा असर पारेको आशङ्कापछि यसको प्रयोग रोक्न तथा स्वतन्त्र अनुसन्धान गर्न माग उठेको छ । तर, वैज्ञानिक अध्ययनले अश्रुग्यास र प्रजनन स्वास्थ्य समस्याबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरिसकेको छैन ।
जीवनयापनको बढ्दो खर्चविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा अश्रुग्यास प्रयोग भएपछि केही महिलाले पेट दुख्ने, अनियमित रक्तस्राव हुने र महिनावारी चक्रमा परिवर्तन आएको बताएका छन् । ‘ल्याक्रिमोस डे साङ’ अभियान समूहले यससम्बन्धी १० हजारभन्दा बढी उजुरी सङ्कलन गरेको जनाएको छ । यद्यपि, ती विवरण स्वतन्त्र चिकित्सकीय समीक्षाबाट पुष्टि भएका छैनन् ।
फ्रान्सेली प्रहरीले प्रयोग गर्ने सीएस रसायनयुक्त अश्रुग्यासले आँखा, छाला र श्वासप्रश्वास प्रणालीमा जलन गराउँछ । यसको सम्पर्कमा प्रदर्शनकारीसँगै बालबालिका, गर्भवती, वृद्धवृद्धा र प्रदर्शनस्थल आसपासका सर्वसाधारण पनि पर्न सक्छन् ।
सन् २०२० को अमेरिकाको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनमा अश्रुग्यास प्रयोगबारे एपीले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावसम्बन्धी अध्ययन र निगरानी सीमित रहेको देखाएको थियो । त्यसपछिको एक अध्ययनले अश्रुग्यासको सम्पर्क र प्रजनन स्वास्थ्यमा प्रतिकूल असरबीच सम्भावित सम्बन्ध देखाए पनि कारणात्मक सम्बन्ध पुष्टि गर्न सकेन । अध्ययनकी प्रमुख लेखिका आशा हसनले महिलाको महिनावारी तथा प्रजनन स्वास्थ्यमा पर्ने प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले भने अश्रुग्यासलाई भीड नियन्त्रणका लागि आवश्यक साधन भन्दै यसको प्रयोग रोक्ने माग अस्वीकार गर्नुभएको छ । गृह मन्त्रालयले प्रकाशित कुनै पनि वैज्ञानिक अध्ययनले सीएसका कारण महिनावारीमा परिवर्तन वा गर्भपतन हुने पुष्टि नगरेको जनाएको छ । अधिकांश असर केही घण्टामै हराउने भए पनि केही लक्षण लामो समय रहन सक्ने मन्त्रालयले स्वीकार गरेको छ ।
मन्त्रालयले सन् २०२१ र २०२२ मा अश्रुग्यासको सम्पर्कबाट पर्ने प्रभावबारे अध्ययन गरेको जनाएको छ । तर, ती अध्ययनका प्रतिवेदन उपलब्ध गराउन एपीले गरेको अनुरोधको जवाफ दिएको छैन । एपी
