एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।    
    
 शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।    
    
 यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् । यसअघि असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।    
    
 पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । रासस   

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update