मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् ।
यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन् । तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले वृृद्धि भएको हो । तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्र्यटक मुस्ताङ भित्रिएका छन् । जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।
विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उहाँको भनाइ छ । तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङमा हिउँदयामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ ।
तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गर्नुभयो । यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।
धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन । पर्यटकीय अनुुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन् ।
मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ । त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन् ।
हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन । पछिल्लो समय नेपाल-चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । रासस
