रे समाचार /काठमाण्डू । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्यसहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।
डिजिटल प्रविधि, सिर्जनात्मक सामग्री र ऐतिहासिक महत्वका विषयहरु उजागर गरी नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, सम्पदा तथा विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्यसहित शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।

नेपाल सरकारको सहकार्यमा नेपाल पर्यटन बोर्ड र टिकटकले आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । । सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, उद्यमी, व्यवसाय तथा समुदायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।
-1793984899.jpeg)
कार्यक्रममा मन्त्री तिमिल्सिनाले डिजिटल प्लेटफर्मले विश्वमा पर्यटकीय गन्तव्य चिनाउने परम्परागत शैलीमा परिवर्तन ल्याएको उल्लेख गर्दै यस्ता माध्यमलाई नेपालको पर्यटन, कला, संस्कृति र उद्यमशीलताको प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “डिजिटल प्लेटफर्मले विश्वले गन्तव्यहरू पत्ता लगाउने तरिकामा परिवर्तन ल्याएका छन् । संसारको एउटा कुनाबाट साझा गरिएको कथाले अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्छ । हामी टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने सम्भावित दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्छौं ।”
-1793984960.jpeg)
नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका निमित्त निर्देशक सुनील शर्माले यस सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नु भयो, “यो पहल नेपालको गन्तव्य बजारीकरणको दृष्टिकोण रूपान्तरण गर्ने महत्त्वपूर्ण प्रस्थानबिन्दु हो । टिकटकसँगको सहकार्यबाट प्राप्त अनुभवलाई अन्य अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मसँगको सहकार्य विस्तार गर्दै नेपालको दृश्य र अन्तर्राष्ट्रिय पहुँच बढाउन उपयोग गर्ने हाम्रो अपेक्षा छ ।”
नेपाल केवल हेर्ने गन्तव्य नभई अनुभूति गर्ने, आत्मसात् गर्ने र स्मरणमा राख्ने अनुभव भएको उल्लेख गर्दै शर्माले सिर्जनाकर्मीहरूलाई नेपालको सुन्दर दृश्य मात्र नभई यहाँको विविधता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सम्बन्धलाई समेत आफ्ना सामग्रीमार्फत विश्वसामु प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वव्यापी दर्शकमाझ साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ ।
त्यसैगरी, अभियानलाई थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेज सञ्चालनमा ल्याइएको छ । नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग टिकटकको ‘कोलाब’ फिचरमार्फत सहकार्य गर्दै नेपालको मौलिक पहिचान र स्थानीय दृष्टिकोणलाई प्रवर्द्धन गर्नेछ । विभिन्न पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिनेछ ।
टिकटकका मिडल इस्ट, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटकीय सम्भावना विश्वसामु पुर्याउनुका साथै स्थानीय सिर्जनाकर्मी र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रबाट लाभ लिन सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी सामुदायिक विकास, स्थानीय उद्यमशीलता र नेपाली कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने दीर्घकालीन प्रयासका रूपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धनसम्बन्धी नीति तथा प्राथमिकतासँग जोडिएको यस अभियानले नेपालको अन्तर्राष्ट्रिय बजारीकरणमा सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र डिजिटल सिर्जनाकर्मीबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ । यसअघि टिकटक र नेपाल पर्यटन बोर्डको सहकार्यमा तीन सयभन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरी टेलिङ तालिम प्रदान गरिएको थियो ।
