- मेहनत र लगानीअनुसार दूधको मूल्य नपाउँदा किसान मारमा ।
- किसानबाट प्रतिलिटर ७५ रुपैयाँमा खरिद, उपभोक्तालाई १०० रुपैयाँसम्ममा बिक्री ।
- दूधको मूल्य निर्धारणमा किसानको सहभागिता र लागतको वैज्ञानिक मूल्याङ्कन गर्न माग ।
दाङ । दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानीअनुसार दूधको मूल्य पाउन नसक्दा समस्या भोग्नुपरेको छ । पशुपालनमा धेरै श्रम र खर्च गर्नुपर्ने भए पनि दूधको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुने अवस्था आएको हो ।
दूध उत्पादन गर्ने किसानले न्यून मूल्य पाउने तर उपभोक्ताले तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म दूध पुर्याउँदा लाग्ने लागत र व्यवसायीको मुनाफाको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने किसानको माग छ । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्न उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।
किसानबाट कम मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादक किसान र उपभोक्ता दुवै प्रभावित भएका छन् ।
घोराही उपमहानगरपालिका-२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आउनुभएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने र बाँकी दूध घरघरमा पुगेर उपभोक्तालाई बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर ७५ रुपैयाँभन्दा बढी मूल्य पाउने अवस्था छैन । गाईको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ मात्र पाउनुहुन्छ । तर, डेरी व्यवसायीले त्यही दूध उपभोक्तालाई प्रतिलिटर एक सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
गाई र भैँसीको दूध उत्पादन लागत फरक भए पनि उपभोक्ताले दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उहाँले भन्नुभयो ।
दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतका खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोहीअनुसार वृद्धि हुन नसकेको खनालको भनाइ छ । उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उहाँले बताउनुभयो ।
किसानले दूधको उचित मूल्य पाउन नसकेको अवस्थामा डेरी व्यवसायीले दूधबाट उत्पादन हुने दही, पनिर र घिउको मूल्य भने बढाएका छन् । व्यवसायी समितिले घोराहीमा असोज १५ गतेदेखि लागू हुने गरी ती वस्तुको मूल्य वृद्धि गरेको हो । लागत बढेको कारण देखाउँदै मूल्य बढाइएको जनाइएको छ ।
हाल दहीको मूल्य प्रतिलिटर १४० रुपैयाँ, पनिरको प्रतिकिलो ९०० रुपैयाँ र घिउको प्रतिकिलो एक हजार ४५० रुपैयाँ कायम गरिएको छ ।
घोराहीका एक किसानले प्रतिलिटर ७० देखि ७५ रुपैयाँसम्ममा दूध बिक्री गर्ने गरेको बताएका छन् । आफैँ मोटरसाइकलमा दूध सम्बन्धित स्थानसम्म पुर्याउने भएकाले प्रतिलिटर ७५ रुपैयाँसम्म पाउने गरेको उहाँको भनाइ छ । तर, दूध बजारसम्म पुर्याउँदा लाग्ने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने उहाँले बताउनुभयो ।
लगानी र श्रम गरे पनि दूधको मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ । पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ ।
किसानले दूधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, मूल्य निर्धारण प्रक्रियामा किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्याउँदा लाग्ने खर्चको समेत मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् । रासस
