म्याग्दी । बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।
बेनी नगरपालिका–३ का वडाअध्यक्ष पदम पुनले चारखोलाको ओसेपिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरुले पनि विस्तार गर्न थालेका जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार अनुकूल हावापानी, भूगोल, बजार र उचित मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा अलँैची लगाएको हो । यस ठाउँमा ५० वर्षअघि पहिरोले खेतीयोग्य जमिन मासिएपछि पछिल्लो समय झाडीमा परिणत भएको थियो ।
पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती राम्रो हुन्छ ।
वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिन्छ । अलैँचीखेतीका लागि शीतोष्ण आद्रता भएको जलवायु चाहिन्छ । बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढङ्गानाका अनुसार नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ । रासस
