RayNewsDaily
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, गत वर्षभन्दा ९६ करोड बढी
एआई निर्मित सांकेतिक तस्वीर ।
  • असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात ।
  • गत वर्षको असोजभन्दा ९६ करोड २० लाख र भदौभन्दा ८३ करोड २५ लाख बढी कारोबार ।
  • बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु, भारततर्फ निर्यात अनुमति १ हजार १७९ मेगावाट पुग्यो ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो ।

उहाँका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) मार्फत बिक्री गरिएको थियो ।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोजमा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको थियो । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो । बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।

गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आवको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो ।

यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्ष असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ । त्यस्तै, भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात हुँदै आएको छ ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update