RayNewsDaily
मेहनत धेरै, आम्दानी न्यून : सङ्कटमा डोम समुदायको पुर्ख्यौली पेसा
एआई निर्मित प्रतीकात्मक तस्बिर
  • बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्न कठिन ।
  • चाडपर्वमा मात्रै बिक्री बढ्ने, अन्य समयमा छाक टार्न समस्या ।
  • पुर्ख्यौली पेसालाई दिगो बनाउन सरकारी सहयोग आवश्यक ।

सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।

बाँसका सामग्री बनाउन धेरै मेहनत गर्नुपर्ने तर आम्दानी न्यून हुने भएकाले यस पेसाबाट परिवारको खर्च धान्न कठिन हुँदै गएको हो । दिनप्रतिदिन महँगी बढ्दै गएको र आम्दानी सीमित भएकाले समुदायका सदस्यलाई जीविकोपार्जनमा समस्या भएको छ ।

तिरहुत गाउँपालिका-३ का ७० वर्षीय भजु मरिकले चाडपर्व र विवाहको याममा जसोतसो छाक टार्न सहज भए पनि अन्य समयमा समस्या हुने गरेको बताउनुभयो ।

“विवाह र चाडपर्वको बेला ठीकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत समस्या हुँदै आएको छ । बाँसको सामान बनाउन समय धेरै लाग्ने र दाम भनेजस्तो पाउन नसकेपछि समस्या हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

ढक्की, कोनियालगायत सामग्री बनाउन एउटा बाँस किन्दा रु दुई सयदेखि तीन सयसम्म खर्च लाग्छ । एउटा बाँसबाट दिनभरिमा तीनवटा सामग्री बनाउँदा रु एक हजारसम्म आम्दानी हुने गरेको भजु मरिकले बताउनुभयो । खर्च कटाएर सिजनमा दैनिक रु सात सयभन्दा बढी बचत हुने भए पनि अन्य समयमा सामग्री बिक्री गर्न कठिन हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार छोराहरूले यही पेसाबाट जसोतसो जीविकोपार्जन गरिरहेका छन् । तर, मेहनत बढी र आम्दानी कम हुने भएकाले नातिहरू भने अन्य पेसातर्फ लाग्न थालेका छन् ।

“हाम्रो जातले बनाएको नियमअनुसार आफ्नो क्षेत्रबाहेक अन्य ठाउँमा गएर आफूले बनाएको सामग्री बिक्री गर्न पाइँदैन । यसले गर्दा पनि हाम्रो समुदायलाई यो पेसामा टिक्न समस्या भएको छ”, उहाँले भन्नुभयो ।

राजविराज नगरपालिका-१३ की रिना मरिकले पनि समुदायको आफ्नै नियमअनुसार तोकिएको क्षेत्रबाहेक अन्यत्र सामग्री बिक्री गर्न नपाइने भएकाले पेसा सञ्चालनमा कठिनाइ भएको बताउनुभयो ।

“श्रीमान् अपाङ्ग हुनुहुन्छ । काम गर्न सक्नुहुन्न । मैले काम गरेर आएको आम्दानीले परिवार पाल्नुपर्ने बाध्यता छ । बाँसका सामग्रीको खरिदबिक्री सिजनमा मात्र हुने भएकाले अन्य बेला छाक टार्नै समस्या हुन्छ । त्यसैले सिजनबाहेकका समयमा अन्य काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

जिल्लाका दलित अभियन्ता युक्ति मरिकले यामबाहेकका समयमा आम्दानी नहुँदा समुदायका सदस्यलाई जीविकोपार्जनमा समस्या भएको बताउनुभयो । यही कारण यस पेसाबाट विस्थापित हुने अवस्था आएको उहाँको भनाइ छ ।

“हाम्रो समुदायको पेसालाई दिगो बनाउन व्यावसायिक रूपमा आर्थिक सशक्तीकरणका लागि सरकारले ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।रासस

बाँसबाट ढक्की, नाङ्लो, कोनिया र चँगेरीलगायत सामग्री बनाउँदै डोम समुदायका सदस्य । मेहनतअनुसार आम्दानी नहुँदा र सिजनबाहेक सामग्री बिक्री गर्न कठिन भएपछि उनीहरूको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update