- बाढीपीडितका घरमा दशैँको खुसी फर्किएन
- घरबार र आफन्त गुमाएकाहरू शोकमै
- छिमेकीको पीडाले सुरक्षित बस्तीमा पनि उल्लास घट्यो
प्रगति ढकाल/काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा लगाएर आफन्तबाट आशीर्वाद थाप्ने दिन । कतै घरआँगन आफन्तले भरिएका छन्, कतै पिङको मच्चाइ छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । तर, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि यस वर्षको दशैँ पीडा र बिछोडको समय बनेको छ ।
बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएकाहरूका लागि दशैँको रौनक हराएको छ । कतै आफन्तको हातबाट टीका र जमरा लगाउने चटारो छ भने कतै बाढीले बेपत्ता बनाएका प्रियजन फर्किएर आउलान् कि भन्ने झिनो आशा अझै बाँकी छ । कतै घरमा उत्सव छ, कतै घर नै छैन । कतै गाउँमा रमझम छ, कतै बस्ती नै बगर बनेको छ ।
नुवाकोटको विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दशैँ विगतका वर्षभन्दा बढी पीडादायी लागेको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसेपछि उनीहरूका लागि टीका लगाउने र उत्सव मनाउने कुरा टाढाको विषय बनेको उहाँ बताउनुहुन्छ ।
“यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दसैँमा टीका लगाउने त कुरै भएन,” उहाँ भन्नुहुन्छ, “टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दसैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन । दसैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन ।”
विदुर नगरपालिका–११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै नपरे पनि छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले दशैँको उत्साह घटाएको छ । वडाध्यक्ष बाबुराम तामाङका अनुसार विगतमा पिङ खेल्ने, बाजागाजा बजाउने, नाचगान गर्ने र आफन्तसँग भेटघाट गरेर दशैँ मनाउने गरिए पनि यस वर्ष छिमेकीको दुःखले गर्दा उल्लास छैन ।
रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दशैँ अनुभव गर्नुभएको थिएन । बाढीले आफन्त, गाउँले र सम्पत्ति गुमाएका उहाँको परिवार अझै शोकमै छ ।
“आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,” उहाँ भन्नुहुन्छ, “ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ । दशैँ आएको हो कि गएको हो, त्यसको महत्व नै छैन ।”
उत्तरगया गाउँपालिकाकी अर्की स्थानीय सपना तामाङलाई पनि यसपटक दशैँ आएको अनुभूतिसमेत हुन सकेको छैन । विगतमा खुसी र उल्लास लिएर आउने दशैँ यस वर्ष पीडा र बिछोडका सम्झना लिएर आएको उहाँको अनुभव छ ।
बाढीको प्रत्यक्ष मारमा नपरेका परिवारका लागि पनि यस वर्षको दशैँ सहज छैन । सँगै चाडपर्व मनाउँदै आएका छिमेकी र साथीभाइ नहुँदा गाउँबस्ती सुनसान बनेका छन् । वर्षौंदेखि दशैँमा भेटघाट गर्दै आएका मानिसहरू गुमाउँदाको पीडाले चाडको रौनक घटाएको छ ।
गोरखाको पालुङटार नगरपालिका-५ मा पनि विगतका दशैँमा जस्तो चहलपहल छैन । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन् ।
रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठूलो सङ्ख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटारवासीका लागि अझै ताजा छ ।
सोही वडाका वडाध्यक्ष दीपक पाण्डेका अनुसार यस वर्ष गाउँमा टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल घटेको छ । सँगै दशैँ मनाउँदै आएका मानिसहरू नै नरहेपछि गाउँलेहरूका लागि पर्वको खुसी हराएको उहाँ बताउनुहुन्छ ।
दशैँको टीका निधारमा लगाइने रङ मात्रै होइन, आफन्तबीचको सम्बन्ध, माया र आशीर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना गहिरो बनेको छ ।
एकातिर देशभर दशैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि दशैँ आएको छ, तर खुसी आएको छैन । यस वर्षको दशैँले यही फरक अनुभूति उजागर गरेको छ - कतै रौनक, कतै सुनसान । रासस
