- १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति ।
- फर्सेमा ७५ घर बगाए, २७ घर जोखिममा ।
- ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित ।
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण गाउँपालिकाका ३१६ घरमा क्षति पुगेको छ ।
जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार थप १४० घर जोखिममा रहेको विवरण सङ्कलन भएको छ ।
बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारमा समेत ठूलो क्षति पुगेको काफ्लेले बताउनुभयो ।
कालीगण्डकी नदी किनारमा रहेको जलजला गाउँपालिका-८ फर्सेमा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँ ७५ घर बगाएका छन् भने २७ घर जोखिममा छन् । बाढी प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसक्ने परिवारलाई अस्थायी शिविर बनाएर राखिएको छ ।
फर्सेसँगै वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेत पनि बाढीपहिरोबाट प्रभावित भएका छन् । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।
“पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खालसमेत सुरक्षित छैनन्”, उहाँले भन्नुभयो, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् ।”
प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्री उपलब्ध गराउने र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।
“तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”
अध्यक्ष आचार्यका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवनको पुनर्निर्माण गर्नुपर्नेछ । जोखिममा रहेका बस्तीको संरक्षण तथा बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार तथा दातृ निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । रासस
