RayNewsDaily
रुसमाथिका प्रतिबन्ध कार्यान्वयनमा ट्रम्पको ६० दिने रोक, युक्रेनद्वारा आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । फाइल तस्वीर ।
  • विश्व अर्थतन्त्रमा प्रभाव अध्ययन गर्न प्रतिबन्ध कार्यान्वयन स्थगित ।
  • अमेरिकी सांसदद्वारा निर्णयको आलोचना, पुटिनलाई फाइदा पुग्ने चिन्ता ।
  • जेलेन्स्कीद्वारा ट्रम्पको निर्णयले रुसलाई पुरस्कृत गरेको टिप्पणी ।

जोइन्ट बेस एन्ड्र्युज (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाउनुभएको छ ।

विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न यस्तो निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताउनुभएको छ । तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले निर्णयको आलोचना गरेका छन् ।

रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्व बजारमा तेल तथा डिजेलको मूल्य बढाएको छ । यस्ता घटनाले समग्र अर्थतन्त्रमा असर पारिरहेकाले प्रतिबन्ध र शुल्कको प्रभाव विश्लेषण गर्नुपर्ने उहाँको भनाइ छ ।

अमेरिकी कङ्ग्रेसले गत महिना पारित गरेको कानूनमा रुसी अधिकारी, धनाढ्य वर्ग र वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउनुका साथै रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तालाई कारबाही गर्ने अधिकार राष्ट्रपतिलाई दिइएको थियो । युक्रेनविरुद्धको युद्धका लागि रुसले आर्थिक स्रोत जुटाउन नपाओस् भन्ने यसको उद्देश्य थियो ।

तर, कानून कार्यान्वयन हुनुभन्दा दुई दिनअघि शुक्रबार ट्रम्पले कार्यकारी आदेशमार्फत छुट दिनुभएको थियो ।

रिपब्लिकन सिनेटर थोम टिलिसले यस निर्णयलाई गैरजिम्मेवार भन्नुभएको छ । ऊर्जा मूल्य घटाउन रुसी राष्ट्रपति पुटिनलाई सहयोग गर्नुभन्दा इरानको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । अर्का रिपब्लिकन सिनेटर टेड क्रुजले पनि ट्रम्पको निर्णयलाई गल्ती भन्नुभएको छ ।

विदेशमन्त्री रुबियोले रुसी डिजेल विश्व बजारमा कुनै न कुनै रूपमा पुग्ने भएकाले अमेरिकाले त्यसको हिस्सा प्राप्त गर्नु व्यावहारिक हुने तर्क गर्नुभयो । डिजेल सडक निर्माण, कृषि तथा निर्माण क्षेत्रमा महत्त्वपूर्ण इन्धन हो ।

इरान युद्धका कारण बढेको इन्धन मूल्य आगामी महिना हुने अमेरिकी मध्यावधि निर्वाचनअघि मतदाताको प्रमुख चिन्तासमेत बनेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले रुसमाथिका थप प्रतिबन्ध हटाउन सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । ट्रम्पको निर्णयले रुसी राष्ट्रपति पुटिनलाई पुरस्कृत गरेको उहाँको टिप्पणी छ । एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update