- युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट गरिब देश प्रभावित ।
- मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो : आईएमएफ प्रमुख ।
- ऋण पुनर्संरचना र अन्तर्राष्ट्रिय वित्तीय सहयोगमा सघाउने प्रतिबद्धता ।
बैङ्कक । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण बढ्दो महँगी र ऊर्जा सङ्कटबाट प्रभावित न्यून आय भएका देशलाई सहयोग गर्नु आफ्नो संस्थाको जिम्मेवारी भएको बताउनुभएको छ ।
थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै उहाँले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताउनुभयो । उहाँका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाएका छन् । तर, मुद्रास्फीति, उच्च ऋण, युद्ध र जलवायु जोखिमले चिन्ता बढाएको छ ।
अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेपछि विश्व बजारमा तेल तथा ग्यासको मूल्य बढेको छ । यसको प्रभाव विभिन्न देशमा पर्दा मुद्रास्फीति थप चर्किएको छ । विशेषगरी तेल आयातमा निर्भर न्यून आय भएका देश बढी प्रभावित भएको आईएमएफले जनाएको छ ।
“मुद्रास्फीति गरिबमाथि लगाइने करजस्तै हो”, जर्जिएभाले भन्नुभयो । उहाँले प्रभावित देशलाई आर्थिक वृद्धि र कमजोर वर्गको संरक्षणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँका अनुसार न्यून आय भएका देशको सरकारी राजस्वमा ऋण भुक्तानीको हिस्सा पछिल्ला वर्षमा ८ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ ।
आईएमएफले आवश्यकताअनुसार ऋण पुनर्संरचना, आन्तरिक स्रोत परिचालन, अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा निजी लगानी प्रवर्द्धनमा सघाउने उहाँले बताउनुभयो । एएफपी
