RayNewsDaily
दसैँका लागि एक लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, २४ घण्टामा ७८ हजार यात्रु बाहिरिए
  • एक लाख ३० हजार १२९ यात्रुले लिए अग्रिम टिकट ।
  • २४ घण्टामा ७८ हजार १३८ यात्रु काठमाडौँबाट बाहिरिए ।
  • सडक बिग्रिँदा सवारी व्यवस्थापनमा समस्या ।

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस गाउँ फर्कन थालेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रु गाउँ फर्किने क्रम बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार दसैँ मनाउन मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु काठमाडौँका विभिन्न नाका हुँदै बाहिरिएका छन् ।

घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधन प्रयोग गरेर एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका थिए ।

काठमाडौँबाट दसैँ मनाउन फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो ।

“दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उहाँले भन्नुभयो ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । त्यस क्रममा धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यातायात व्यवस्थापनमा समस्या भएको थियो ।

हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ गरेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

यातायात महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस हरेक वर्ष चाडपर्व मनाउन घर फर्किने गरेका छन् । रासस

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update