RayNewsDaily
बाढीपछि लाङटाङका सबै परिवारलाई हेलिकप्टरबाट खाद्यान्न वितरण
एआई निर्मित सांकेतिक तस्वीर ।
  • लाङटाङका सबै घरपरिवारलाई हेलिकप्टरबाट राहत ।
  • विश्व खाद्य कार्यक्रमको हेलिकप्टरबाट १० टन खाद्यान्न ढुवानी ।
  • सडक र पैदलमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट राहत पुर्‍याइयो ।

रसुवा । गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरपरिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका सबै परिवारलाई खाद्यान्न अभाव हुन नदिन गाउँपालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्‍याइएको हो ।

बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै सडक र पुलसमेत बगाएपछि खाद्यान्न ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो ।

गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्‍याइएको छ । उक्त खाद्यान्न स्थानीय सबै घरपरिवारलाई आवश्यकताअनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको उहाँले बताउनुभयो ।

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि राहत महसुस गरेका छन् । सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि खाद्यान्न ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत पुगेको वडा कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update