- नेप्से ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा ।
- कारोबार रकम बढेर ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्यो ।
- बेनी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट ।
रे समाचार/काठमाडौँ । पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा आज पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको शेयरमूल्य ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ ।
यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नति कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ । आज मूल्य घटेका स्टकहरूको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।
आज १३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ ।
