RayNewsDaily
नेपालको पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न अर्थमन्त्री वाग्लेको एडिबीलाई आग्रह
  • विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणका लागि स्रोत परिचालन गर्न आग्रह ।
  • आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा एडिबीप्रति कृतज्ञता ।
  • नेपालको विकासमा सहकार्य उच्च प्राथमिकतामा रहेको एडिबी अध्यक्षको भनाइ ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गर्नुभएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता अघि बढाउन आवश्यक स्रोत परिचालन गर्न अध्यक्ष कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछिको उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेको र ऐक्यबद्धता व्यक्त गरेकोमा अर्थमन्त्री वाग्लेले एडिबीप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

छलफलमा भ्रमण दलमा रहनुभएका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update