RayNewsDaily
धर्म संकट (कविता)

-श्रीभक्त पौडेल/प. रामपुर चितवन

धर्म संकटमा छ धर्म 
बिषिस्ट कोटीको संकटमा छन् मान्छे 
अध्यात्मलाई नगद बनाएर 
आदर्शका खेती गर्दैछन् 
नब आदर्श गुरुहरु 
चरम भौतिकबादका ह्याङ ओभरका लागि 
अध्यात्मका कागती चुस्दै छन्
नब अघोरीहरु 
अनि 
आत्मा नगद खोज्छ 
ओठ आदर्श 
कान अहमता मात्र
आँखा केवल झुट बोल्छन् ! 
जोगी लुक्छन् 
स्मशान तर्सन्छ 
घाट शान्ती खोज्छ 
अनि जमिन 
जमिन माटो खोज्छ 
माटो यथार्थ खोज्छ 
यथार्थता तीनै 
नब अघोरीहरुको गोजीमा 
धर्म उनकै गोजीमा! 
उग्र सामन्तिहरुको राजमा 
नयाँ जोगीहरुको खरानीको ब्यापार !
बाध्य पारिन्छन् 
उनैका सिद्धान्त 
उनैका आदर्श 
किन्ने ऊ, तपाइँ अनि म 
कहाँ त्यती मात्रै हो र 
उनैका प्रवचन् सुन्न पर्छ 
हो मा हो भन्दै 
नतमस्तक बन्दै !
खुइय् सुश्केरा काड्छ धर्म 
कस्तो धर्म संकट आँफैलाई ??
शहरले नरुचाईएका श्यालहरुको 
आदर्शका हुईँया 
यस्तै छन् 
आजको बर्तमान हजुर ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update