RayNewsDaily
दुई जलविद्युत् परियोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
  • नारखोला र सानी भेरी-३ जलविद्युत् परियोजनामा लगानी स्वीकृत ।
  • १०५.६२ मेगावाटका दुई परियोजनाको लागत २१ अर्ब १७ करोडभन्दा बढी ।
  • अरुण-३ ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने लक्ष्य ।

काठमाडौँ । लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले ५८.९ मेगावाट क्षमताको नारखोला जलविद्युत् परियोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी-३ जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नारखोला परियोजनाको लागत १० अर्ब ७५ करोड चार लाख ९७ हजार रुपैयाँ र सानी भेरी-३ परियोजनाको लागत १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ रहेको छ । दुवै परियोजनाको कुल क्षमता १०५.६२ मेगावाट हुनेछ ।

बैठकले अरुण-३ जलविद्युत् परियोजना (९०० मेगावाट) ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने निर्णय गरेको छ । त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट) को निर्माण परियोजना विकास सम्झौताका प्रावधानअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।

स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेञ्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिएको छ ।

कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुग्ने योगदानलाई ध्यानमा राखी त्यस्ता परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलगायत बोर्डका सदस्य तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update