हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् ।
काठमाण्डूबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका अवधेश यादवको श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइको मृत्यु भएको छ ।
दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासी गाउँपालिका-८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल, चक्रघट्टा-४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय देवेन्द्र उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र सुदीपलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्रलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस
