RayNewsDaily
आज दिनभर वर्षा, शनिबारदेखि मौसममा सुधार हुने
  • आज अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने ।
  • चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।
  • शनिबारदेखि मौसममा क्रमशः सुधार आउने ।

काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने भएको छ । यो क्रम शुक्रबारसम्म जारी रहने र शनिबारदेखि मौसममा क्रमशः सुधार आउने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार अहिले अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार भए पनि शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

“शनिबारदेखि भने मौसममा सुधार आउनेछ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ”, उहाँले राससलाई भन्नुभयो ।

आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ । विभागका अनुसार उक्त वर्षा भारी वर्षाअन्तर्गत पर्छ ।

हाल काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update