- भक्तपुरका सडक र गल्लीमा दुई हजार ६२० गमला ।
- १० वटै वडामा फूलका बोट रोपेर हरियाली अभियान ।
- कला र संस्कृतिसँगै ‘हरियो नगर’ बनाउने प्रयास ।
रेणु त्वानाबासु/भक्तपुर । हिजोआज भक्तपुर घुम्न आउने जोकोहीले एउटा फरक दृश्य देख्न सक्छन् - जताततै गमला र बोटबिरुवा । नगरका मुख्य सडकदेखि गल्लीसम्म सडक किनारमा गमलामा फूलका बोट रोपेर राखिएका छन् ।
कला र संस्कृतिको सहरका रूपमा परिचित भक्तपुरमा पछिल्लो समय पर्यावरणमैत्री पहिचान पनि थपिँदै गएको छ । भक्तपुर नगरपालिका-७ गोल्मढीका प्रकाश मल्ल भन्नुहुन्छ, “पाइलैपिच्छे सार्वजनिक स्थलमा गमलाहरू लाइनै राखिएका छन् । सायद, एक दिन मानिसहरूले भक्तपुरलाई ‘गमलै गमलाको सहर’ भनेर चिन्नेछन् ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफूहरूले गर्न नसकिने ठूला आश्वासन दिएर जनतालाई नझुकाउने बताउनुहुन्छ । “हामी जे सकिन्छ, त्यही मात्रै बोल्छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो काम सानो हो तर हामीलाई विश्वास छ, यो ठूलो महत्त्वको छ । यसले भविष्यमा भक्तपुर हरियो नगर बन्नेछ ।”
कङ्क्रिटको जङ्गलका रूपमा रहेको सहरलाई सुन्दर बनाउन यो सानो कामले ठूलो टेवा पुग्ने उहाँको विश्वास छ । यसले सहरलाई हरियालीयुक्त बनाउनुका साथै स्वच्छ हावा पाउनसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
अमेरिकी नागरिक ई.ए. पावेलले सन् १९२० तिर नेपाल भ्रमणका क्रममा भक्तपुरबारे गरेको प्रशंसा स्मरण गर्दै नगर प्रमुख प्रजापति भक्तपुरको पुरानो पहिचानसँगै ‘हरियो भक्तपुर’को नयाँ पहिचान थप्ने प्रयास भइरहेको बताउनुहुन्छ ।
भक्तपुर नगरपालिकाका वातावरण समिति संयोजक एवं वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व नगरमा हरियाली कायम गर्ने उद्देश्यले गमला राखेर फूलका बोट रोप्ने काम भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार वडा नं १ देखि १० सम्मकै सबै वडामा यो अभियान सञ्चालन गरिएको छ ।
कुन वडामा कति ?
ज्याख्वका अनुसार हालसम्म नगरभरि दुई हजार ६२० वटा गमला राखेर फूलका बोट रोपिएको छ । वडा नं १ मा ४६५, वडा नं २ मा ४५०, वडा नं ३ मा ४६५, वडा नं ४ मा आठ, वडा नं ५ मा २६५, वडा नं ६ मा १६०, वडा नं ७ मा २५०, वडा नं ८ मा १२, वडा नं ९ मा ३०० र वडा नं १० मा २२५ वटा गमला राखिएको छ ।
वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले आफ्नो वडामा मात्रै ५०० देखि ६०० गमला राख्ने योजना रहेको बताउनुभयो । त्यसका लागि गमला बनाउन दिइरहेको उहाँले जानकारी दिनुभयो । भक्तपुरमा राखिएका गमला रामचन्द्र अवाल र न्हुच्छेकुमार अवालले बनाउँदै आएको उहाँले बताउनुभयो ।
कहाँकहाँ राखिएको छ ?
विशेषगरी सम्पदा तथा पर्यटकीय क्षेत्र, सडक किनार तथा डिभाइडर, सार्वजनिक भवन तथा कार्यालय परिसर र सांस्कृतिक प्रदक्षिणा मार्गमा गमला राखेर हरियाली बनाइएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र आसपास, दत्तात्रय क्षेत्र तथा टौमढी जाने प्रमुख पर्यटकीय मार्गमा गमला राखिएका छन् ।
वडा नं ७ का वडाध्यक्ष उकेश कवांले नगरभित्रका मुख्य सडकका किनार, चोक तथा पैदलयात्री हिँड्ने फुटपाथका छेउमा गमला राखेर हरियाली बनाउने अभियान सुरु गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिका कार्यालय परिसर, वडा कार्यालय, नगरपालिकाद्वारा सञ्चालित विद्यालय तथा ख्वप अस्पताल वरपर पनि गमला राखिएको छ । गुन्हीपुन्ही तथा सापारुलगायत चाडपर्वमा प्रयोग हुने परम्परागत सांस्कृतिक सडक मार्गलाई सजाउन पनि गमला राखिँदै आएको उहाँले बताउनुभयो ।
स्याहार चाहिँ कसले गर्छ ?
नगरपालिका र वडा कार्यालयको सक्रियतामा राखिएका गमला तथा फूलका बोटको स्याहार, संरक्षण र हेरचाह भने स्थानीयवासीले गर्ने गरेका छन् । बिरुवा रोप्ने काम नगरपालिका वा वडाले गरे पनि त्यसको स्याहार स्थानीयवासीले गर्ने गरेका हुन् ।
“नगरवासी आफैँले आफ्नो घरअगाडिको रुखबिरुवा हुर्काउने, बिरुवाको हेरविचार गर्ने, पानी दिनेलगायतका काम स्थानीयस्तरमा घर नजिक भएका स्थानीयबाट नै हुँदै आएको छ”, अध्यक्ष कवां भन्नुहुन्छ, “यसले अपनत्व पनि बढ्छ र बोटबिरुवा पनि बाँच्छ ।”
नगरपालिकाले नगरलाई हरित, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत यो काम अघि बढाएको हो । सार्वजनिक स्थलमा चोरी हुने सम्भावना भएकाले सिमेन्टबाट तयार पारिएका चारपाटे आकारका गमला राखिएको वडा नं ९ का वडाध्यक्ष ज्याख्वले बताउनुभयो ।
‘हामी स्याहार्छौँ हाम्रो बोटबिरुवा’
भक्तपुर नगरपालिका-७ की स्थानीय सुलोचना किसीले हरियाली तथा वातावरण संरक्षणका लागि भक्तपुर नगरपालिकाले थालेको अभियान उदाहरणीय रहेको बताउनुभयो । उहाँले आफ्नो वडामा सञ्चालित कार्यक्रममा आफूले पनि सहभागिता जनाएको बताउनुभयो ।
याताटोलदेखि गोल्मढीको गणेश मन्दिरसम्म गमलामा बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । अर्की स्थानीय मोहनकेशरी ग्वाछाले आफ्नो घरको पेटीमा आफैँले फूल रोप्नुपर्ने ठाउँमा वडा र नगरपालिकाले गमला राखिदिँदा खुसी लागेको बताउनुभयो ।
“हरेक घरको पेटीमा फूल रोपेको देख्दा एकदम खुसी भएको छ । अब यी फूलहरू फुल्ने बेला टोल बगैँचाजस्तै हुने भयो”, उहाँले भन्नुभयो ।
स्थानीय युवा प्रकाश मल्ल पनि सार्वजनिक स्थलमा पाइलैपिच्छे गमला देखिन थालेकामा खुसी हुनुहुन्छ । उहाँका अनुसार यसले एक दिन भक्तपुरलाई ‘गमलै गमलाको सहर’का रूपमा चिनाउनेछ ।
फेरिएला भक्तपुरको परिचय ?
भक्तपुरका हरेक चोक र गल्ली कला तथा वास्तुकलाका उत्कृष्ट नमुना हुन् । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेका ५५ झ्याले दरबार, कलात्मक सुनौलो ढोका (लुँधोखा) र नेपालकै सबैभन्दा अग्लो न्यातपोल (ङातापोलो) देवल यहाँको इन्जिनियरिङ र काष्ठकलाका जीवन्त इतिहास हुन् ।
भक्तपुर केवल पुराना भवनको सहर होइन, यो एउटा ‘जीवित सम्पदा’ पनि हो । यहाँ वर्षैभरि विभिन्न जात्रा तथा चाडपर्व मनाइन्छन् । नयाँ वर्षसँगै सुरु हुने बिस्का जात्रा, सापारु (गाईजात्रा), गल्लीगल्लीमा गुञ्जने परम्परागत दाफा भजन तथा नवदुर्गा नाचले सहरलाई सधैँ उत्सवमय बनाइराख्छन् ।
स्थानीय निर्वाचनपछि २०७४ देखि २०७९ सालसम्म पाँचतले मन्दिर, भैरवनाथ मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको जीर्णोद्धारका साथै पाटी, ढुङ्गेधारा, सत्तल, इनार र पोखरी गरी १२४ भन्दा बढी सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भएको थियो । २०७९ सालमा दोस्रो पटक स्थानीय निर्वाचन भएपछि पनि जनप्रतिनिधिले उक्त कार्यलाई निरन्तरता दिइरहेका छन् ।
भाज्या पोखरी, रानी पोखरी र लक्ष्मीनरसिंह मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको काम पछिल्लो कार्यकालमा सम्पन्न भएका छन् ।
दुई कार्यकालमा गरी हालसम्म मूर्त सम्पदाअन्तर्गत मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल र पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेका छन् । करिब डेढ दर्जन सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको छ ।
भक्तपुरको परिचय अहिलेसम्म कला र संस्कृतिको जीवन्त नगरका रूपमा रहँदै आएको छ । जुजु धौ (दही) र भादगाउँले टोपी यहाँका थप चिनारी हुन् । यी र यस्तै पहिचानमा अर्को चिनारी थप्ने पछिल्लो प्रयास हो - ‘हरियो नगर’ । रासस
